नेपाली जनसम्पर्क समिति बेलायतको छैटौं अधिवेशन आपसी समझदारीमा गर्न नेताहरुको जोड


लन्डन- कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायतको छैटौं अधिवेशन प्रारम्भ भएको छ ।
आइतबार अल्डरसटस्थित प्यालेस रेष्टुरेन्टमा अधिवेशन तयारी समिति संयोजक नेता शेर बहादुर सुनारको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाली कांग्रेस केन्द्रिय सभापति गगनकुमार थापाले सम्बोधन गरे ।
सम्बोधनका क्रममा सभापति थापाले आपसी समझदारी कायम गरेर अधिवेशनको प्रक्रिया पूरा गर्न शुभकामना दिए ।
सभापति थापाले यसअघि पाखा लागेका साथीहरुलाई समेत समेटेर शक्तिशाली समिति बनाउन समेत सुझाए दिए ।
उनले महाधिवेशन प्रतिनिधि चयनमात्र भन्दा रचनात्मक कार्यमा लाग्ने र बेलायती राजनीतिज्ञसंग नेपाल सम्बन्ध विस्तारमा क्रियाशील रहने खालको समिति गठन गर्न पनि अनुरोध गरे ।
छोटो समयावधिमा समेत अधिवेशनको जिम्मेवारी निर्वाह गरेकामा सभापति थापाले संयोजक शेरबहादुर सुनारसहित सबैलाई बधाई समेत दिए ।

अधिवेशन संयोजक शेरबहादुर सुनारले चुनौतिबीच केन्द्रको जिम्मेवारी सहर्ष स्वीकारेर अधिवेशन गर्न होमिएको बताए ।
संयोजक सुनारले केन्द्रबाट यसअघि प्राप्त एक साताको समयसीमा विस्तार गरि असोज १४ (३० सेप्टेम्बर) सम्म अधिवेशन सक्न निर्देशन आएकाले सोही अनुरुप प्रक्रिया बढाइने जनाए ।
आफू एक जनाले मात्र यो जिम्मेवारी पूरा गर्न नसक्ने बताउंदै सुनारले सबैको सहयोग पाउने अपेक्षा व्यक्त गरे । तीन रात बांकी रहेकाले साथ दिन उनले सबैमा अपिल गरे ।
अब बेलायत समिति चलायमान बनाउनुपर्ने बताउंदै सुनारले काठमाडौं पठाउने महाधिवेशन प्रतिनिधि र सदस्यहरुको नामावली व्यवस्थापन तुरुन्त थालिने बताए ।
सदस्यता केन्द्रबाट अनुमोदन भएर आएपछि नयां कार्यसमिति चयन हुने सुनारले बताए । २००७ जना सदस्यता अद्यावधिक गर्ने काम बांकी रहेको उनले जनाए ।

संस्थापक सभापति डा. पुरुषोत्तम पौडेलले आफूले समिति छाडेको करिब दुई दशकमा गुटउपगुट र फुटले संगठन थलिएको बताउंदै अब व्यवस्थित बनाउने जुन थालनी भएको छ, त्यो सराहनीय रहेको बताए ।
पौडेलले एकवद्ध भएर गैर आवासीय नागरिकता लगायत पार्टीले घोषणा गरेका मुद्दामा काम गर्नुपर्ने बेला आएको पनि बताए । अब कम्युनिष्ट र अतिवादीहरुसंग चुनावमा गठबन्धन गरेर जान नहुने सुझाव दिंदै उनले अधिवेशनको शुभकामना दिए ।
वरिष्ठ नेता विश्व आदर्श पण्डितले जेनजी आन्दोलनपछि परिवर्तित देशको राजनीतिक परिस्थितिमा कांग्रेसलाई कसरी मजबुत र कार्यकर्तामा कसरी शक्ति सञ्चार गर्न सकिन्छ भनेर केन्द्रिय युवा नेताहरुले कांग्रेस र देश बदल्न विशेष अधिवेशनगरि नेतृत्व लिएको स्मरण गरे ।
केही वर्षयता संगठन ध्वस्त भएको र नेटवर्किङ टुटेकाले अब जोड्नुपर्ने बेला आएको उनले बताए । नेता पण्डितले सहमति नै सबैको निकास भएकाले त्यसमा कसरी जाने एकै ठाउंमा बसेर निकास निकाल्न सुझाव दिए ।
अर्का नेता डा. सम्पूर्णानन्द ढुंगानाले पद लिने तर कर्तव्य नबुझ्नेलाई समितिमा नआउन आग्रह गरे । समयसीमा असोज १४ (३० सेप्टेम्बरभित्र) सहमतिको वातावरण आवश्यक भएको जनाउंदै उनले कुन बाटोबाट सहमतिमा पुग्न सकिन्छ सल्लाह गर्न आग्रह गरे । काम नगर्नेलाई जिम्मेवारी नदिइ क्षमतावानलाई अवसर दिन पनि उनको सुझाव थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभापति महेशकुमार दाहालले संगठन सबैको साझा भएकाले सहमतिमा चुस्त, दुरुस्त समिति बनाउनुपर्नेमा जोड दिए । छैटौं महाधिवेशनका लागि सबैलाई साथ दिन पनि उनले आग्रह गरे ।
पूर्व सभापतिहरुले चाहेर पनि कति काम गर्न नसकेको उल्लेख गर्दै दाहालले संगठन चालु गर्न सामूहिक प्रयास आवश्यक हुने बताए ।
अर्का पूर्व सभापति युवराज सिंहले सबैले इमान्दारीका साथ सहयोग गरे संगठन चल्ने नत्र धेरै कठिनाइ हुने बताए । विधानमा टेकेर व्यवहारिक रुपमा समझदारीमा समिति गठन गर्न उनको आग्रह थियो ।
अधिवेशन तयारी समितिका सदस्य एवं व्यवसायी दयानिधि सापकोटाले समितिलाई राम्रोसंग ‘ड्राइभ’ गर्न सक्ने र बदलिएको नयां कांग्रेस बनाउने गगन थापाको उद्घोष अनुशरण गरेर अगाडि बढ्ने समिति गठन गर्न सुझाए ।
सापकोटाले विगत एक दशकयता संगठन विधि, विधान र पद्धति मिचेर अगाडि बढ्दा सबैबाट सम्बन्ध टुटेको बताए । अब संगठनलाई केन्द्रिय नीति, नेतृत्व र विशेष महाधिवेशनको मर्म अनुरुप बेलायतको शक्तिशाली समिति बनाउनुपर्नेमा सापकोटाले जोड दिए ।
सापकोटाले सदस्यता प्रमाणीकरण गरेपछि महाधिवेशन प्रतिनिधि चयन र समितिको नयां कार्यसमिति चयन गरिने पनि जनाए ।
तयारी समितिका अर्का सदस्य हितकाजी गुरुङले जनसम्पर्क समितिहरुलाई पनि पार्टीप्रति थप जिम्मेवार र अपनत्व महशुस गराउन केन्द्रिय सभापति थापाले प्रवासबाट ५ जना पुरुष र एक महिलालाई केन्द्रिय सदस्यको स्थान दिएको जानकारी दिंदै सहमति, सहकार्य गरेर जानु पर्ने बताए ।
सहमतिका नाममा विधि, विधान मिचेर जान नहुनेमा भने उनले सचेत गराए ।
कार्यक्रममा अल्डरसट क्षेत्रीय समितिका सभापति शक्तिमान गुरुङले फुटेर होइन जुटेर बेलायतको कांग्रेसलाई उदाहरणीय बनाउनुपर्ने बताए । नेपाली जनसम्पर्क समिति बेलायत साउथ इष्ट क्षेत्रीय सभापति राजेन्द्र खरेलले अब अधिवेशनबाट चुस्त, दुरुस्त र संगठित नेतृत्व ल्याउनुपर्नेमा जोड दिए ।
मिडल्याण्ड क्षेत्रीय सभापति नारायण आचार्यले सबैलाई समेटेर सशक्त नयां टिम बनाउन सुझाए ।
पूर्व उपसभापति विजन भट्टले सबै पक्षबीच सहकार्य, समझदारी र समन्वय कायम गर्दै अधिवेशन प्रक्रिया अगाडि बढाउन सुझाव दिए ।
पूर्व महामन्त्री शान्तविनोद लामिछानेले विधि र विधानलाई नछाड्न आग्रह गरे । उनले सदस्यता व्यवस्थापनमा विशेष ध्यान दिंदै रित नपुगेका पुरानो सदस्यता खारेजी र नयांलाई अवसर दिन पनि सुझाव दिए ।
उद्घाटन सत्र सञ्चालन गर्दै सदस्य सचिव आर के त्रिपाठीले एकतावद्ध समिति बनाइने बताए । आपसी समझदारीमा बन्ने नयां कार्यसमितिले कांग्रेस पार्टीलाई समेत बलियो बनाउने त्रिपाठीले उल्लेख गरे ।
अधिवेशनको दोश्रो सत्रमा संयोजक सुनार र सदस्य सचिव त्रिपाठीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ ।
निर्वाचन समिति, विधान समितिका सदस्यहरुसहित झण्डै सय जना सदस्यहरु सहभागी दोश्रो सत्रमा विधान समिति संयोजक केशव भण्डारीले केही संशोधनका लागि गरेको प्रस्ताव सुझावसहित पारित भएको छ ।
उक्त अधिवेशनको बन्द सत्रले आसन्न नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि १४ जना महाधिवेशन प्रतिनिधि चयन गर्न र नयां पूर्ण कार्यसमिति गठनका लागि संयोजक शेर सुनारलाई अधिकार दिएको छ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


