बर्मिङहमको ‘टेष्ट अफ हिमालयन’ ले जित्यो ‘बेस्ट इमर्जिङ रेष्टुरेन्ट ब्रान्ड’ अवार्ड


अवार्ड ग्रहण गर्दै सञ्चालक तथा हेड सेफ तेज भण्डारी
लन्डन- बेलायतमा नेपाली स्वाद र परिकार प्रवर्द्धन गर्दै आएको रेष्टुरेन्ट ‘टेष्ट अफ हिमालयन’ ले अर्को प्रतिष्ठित अवार्ड जितेको छ। बर्मिङहमको ब्ल्याकहिथ रउलीमा सञ्चालित रेष्टुरेन्टले ‘बेस्ट इमर्जिङ रेष्टुरेन्ट ब्रान्ड’को सम्मान प्राप्त गरेको हो।
गत सोमबार म्यानचेस्टरस्थित ‘द एडवार्डियन म्यानचेस्टर’ मा आयोजित ‘इन्डियन रेष्टुरेन्ट समिट एन्ड अनर्स २०२६’ को रिजनल एडिसनमा टेष्ट अफ हिमालयनलाई उक्त अवार्ड प्रदान गरिएको हो।
टेष्ट अफ हिमालयनका लागि यो पछिल्लो उपलब्धि निरन्तर सफलताको अर्को महत्वपूर्ण कडी बनेको छ। यसअघि २०२५ मा रेष्टुरेन्टले ‘नेपलिज रेष्टुरेन्ट अफ द इयर’ अवार्ड जितेको थियो भने २०२४ मा सोही विधामा रनरअप बनेको थियो।
सञ्चालक तथा हेड सेफ तेज भण्डारीको नेतृत्वमा टेष्ट अफ हिमालयनले नेपाली मौलिक परिकारसँगै नेपाली स्वादअनुसार तयार पारिएका इन्डियन परिकारसमेत ग्राहकलाई पस्किंदै आएको छ।
नेपाली तथा इन्डियन खानाको क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव संगालेका भण्डारीले भारत र कतारमा लामो समय काम गरेपछि बेलायतमा आफ्नो व्यवसायिक यात्रा अघि बढाएका हुन्।
नयाँ अवार्डपछि टेष्ट अफ हिमालयनले आयोजक तथा आफ्नो यात्रामा निरन्तर साथ दिने ग्राहक, स्टाफ र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।
निरन्तर अवार्ड र ग्राहकको विश्वासले बेलायतमा नेपाली खानाको पहिचानलाई थप उचाइमा पुर्याउने आफ्नो प्रयासमा उत्साह थपिएको भण्डारीले बताए।
‘टेष्ट अफ हिमालयन’ ले इन्डियन खानालाई नेपाली स्वादसँग जोडेर ग्राहकलाई नयाँ–नयाँ स्वादको अनुभव दिँदै आएको छ। नेपाली स्वाद मन पराउने ग्राहकका लागि यहाँका परिकारमा आफ्नोपन र मौलिक स्वाद भेटिन्छ।
यहाँको कालो दाल मखनी, महीको झोल तन्दुरी म:म:, सिजलर म:म:, झोल म:म: र चिल्ली फ्राइड म:म: ग्राहकका रोजाइका परिकार हुन्।
इन्डियन खानामा नेपाली स्वादको तड्का मिसाइएका परिकारले फरक स्वाद खोज्ने ग्राहकलाई आकर्षित गरिरहेका छन्।
त्यसैगरी, नेपाली स्वादभन्दा अलि फरक स्वाद मन पराउने विदेशी तथा अंग्रेजीभाषी ग्राहकका लागि मख्खनवाला चिकेन, चिकेन टिक्का मसला र कोर्मा जस्ता लोकप्रिय भारतीय परिकार पनि उपलब्ध छन्। मेनुमा हिमालयन चिकेन करी र हिमालयन चिकेन दम बिरयानी पनि समावेश छन्। साथै, मासुका परिकार मन पराउने ग्राहकका लागि हिमालयन ल्याम्ब करी र ल्याम्ब दम बिरयानी पनि विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।
समुद्री खानाका पारखीका लागि विभिन्न समुद्री परिकार तथा शाकाहारी ग्राहकका लागि पनीरका परिकार र भेज मिक्स खजाना जस्ता स्वादिष्ट परिकार पनि मेनुमा समावेश गरिएका छन्।
ग्राहकको रुचि र मागलाई ध्यानमा राख्दै नयाँ मेनुमा टपरी म:म: र मलाई म:म: थपिएका छन्।
नेपाली मौलिक स्वाद, इन्डियन खानाको विविधता, हिमालयन स्वाद र नयाँ–नयाँ परिकारलाई एउटै ठाउँमा पस्किनु नै टेस्ट अफ हिमालयनको खास पहिचान बनेको छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


