बुधबार, २३ सेप्टेम्बर, २०२६
14:26 | १९:११

पिटरबरोस्थित काठमाडौँ लाउन्जद्वारा बाढी पीडितलाई झन्डै २० लाख

नेपाली लिङ्क सेप्टेम्बर २३, २०२६


लन्डन । बेलायतको पिटरबरोस्थित नेपाली रेष्टुरेन्ट काठमाडौँ लाउन्जले सुरु गरेको अभियानमा अहिलेसम्म झन्डै ९,५०० पाउण्ड संकलन भएको छ।

नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि काठमाडौँ लाउन्जले आपत्कालीन राहत संकलन सुरु गरेको थियो ।

तिब्बतबाट आएको भीषण बाढीका कारण नेपालका सीमावर्ती तथा तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको जनाउँदै रेष्टुरेन्टले बाढीपीडितका लागि खाद्यान्न, स्वच्छ खानेपानी, स्वास्थ्य सामग्री तथा अस्थायी आश्रयको व्यवस्था गर्न सहयोग आह्वान गरेको हो।

बाढीका कारण घरहरू बग्नुका साथै सडक तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको र सयौँ परिवार खाद्यान्न, स्वच्छ पानी तथा आश्रयको अभावमा प्रभावित भएको अपिलमा उल्लेख छ।

रेष्टुरेन्टले सञ्चालन गरेको जस्ट गिभिङ अभियानमार्फत संकलन हुने सहयोगबाट तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ।

अभियानअनुसार १० पाउन्डले आपत्कालीन खाद्यान्न तथा स्वच्छ खानेपानी, २५ पाउन्डले आवश्यक सरसफाइ सामग्री तथा प्राथमिक उपचारका सामग्री, र ५० पाउन्डले अस्थायी आपत्कालीन आश्रय तथा न्यानो कम्बल उपलब्ध गराउन सहयोग पुग्ने जनाइएको छ।

काठमाडौँ लाउन्जका सञ्चालक कृष्ण कृशले सहयोग प्रदान गर्ने नेपाली समुदाय तथा नेपालका मित्रहरुलाई हार्दिक धन्यवाद दिए। उनले संकलित सबै रकम लन्डनस्थित नेपाली दूतावासमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने पनि जनाए ।


सहयोग संकलन अभियानमा पिटरबरोका सांसद एन्ड्रयु पेक्स तथा पिटरबरो एवं क्याम्ब्रिजशायरका मेयर पल ब्रिस्टो पनि जोडिएका थिए। उनीहरुले स्थानीय ब्रिटिश समुदाय लगायत सबै सहयोगीहरुलाई हार्दिक धन्यवाद दिए।

काठमाडौँ लाउन्जले बेलायतस्थित नेपाली समुदाय तथा अन्य शुभेच्छुकलाई यो लिंकमा गएर सक्दो सहयोग प्रदान गरी बाढीपीडितको कठिन अवस्थामा मानवीय सहयोगका लागि हातेमालो गर्न आग्रह गरेको छ।

नेपालका बाढी पीडितहरुका लागि पिटरबरो नेपाल समाज लगायत अन्य संघ संस्थाले पनि सहयोग संकलन गरिरहेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू