सोमबार, २१ सेप्टेम्बर, २०२६
23:27 | ०४:१२

गोर्खा अधिकार र नागरिकता निरन्तरता मुद्दामा सरकारको ध्यानाकर्षण गराएकोमा आभार

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२६

लन्डन- गोर्खा अभियन्ता एवं ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति यूके/नेपालका प्रमुख संयोजक सन्तोष थलङले गोर्खा अधिकार र नागरिकता निरन्तरताका विषयमा सरकारको ध्यानाकर्षण गराएकोमा तमु धीं यूकेप्रति आभार प्रकट गरेका छन्।

एक प्रेस नोट जारी गर्दै प्रमुख संयोजक थलङले भनेका छन् ‘तमु धीं यूकेले प्राप्त अवसरको सही सदुपयोग गर्दै ब्रिटिश गोर्खाहरूको समान अधिकार र वंशजको नेपाली नागरिकता निरन्तरताका सम्बन्धमा माननीय गृहमन्त्रीज्यूसमक्ष लिखित ज्ञापनपत्र बुझाउनुका साथै मौखिक रूपमा ध्यानाकर्षण गराएकोमा नागरिकता अभियानको एक संस्थापक एवं गोर्खा अभियन्ताको हैसियतले तमु धीं यूके परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

वंशजको नेपाली नागरिकता निरन्तरता सम्पूर्ण ब्रिटिश गोर्खा र गोर्खा सन्ततिहरुको साझा मुद्दा भएकाले सबैले आ-आफ्नो स्थानबाट यस विषयमा पहलकदमी लिनु अत्यावश्यक रहेको उनले बताएका छन्।

‘तर, यस अभियानलाई तार्किक निष्कर्षमा पुर्‍याउन हामीले ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको अवधारणागत स्पष्टता र एजेन्डामा एकरूपता हो’- उनी भन्छन्- ‘हामीले नागरिकता निरन्तरताको यो अभियान अघि बढाउँदा एउटै स्पष्ट धारणा, एउटै व्यहोरा र बलियो एकताका साथ प्रस्तुत हुनुपर्छ। विषयको उठान र मुख्य एजेन्डामा हामीबीच पूर्ण एकरूपता हुनुपर्छ र यसका लागि आपसमा निरन्तर परामर्श तथा सहकार्य गर्न कसैले पनि संकोच मान्नु हुँदैन।’

शुरुवात देखि नै अनवरत रूपमा यस अभियानमा समर्पित “ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति (BGNCCC – UK/Nepal)” सबैसँग विचार-विमर्श, अनुभव साटासाट र अभियानको वर्तमान अवस्थाबारे जानकारी साझा गर्न सदैव तत्पर र खुला रहेको पनि थलङले उल्लेख गरेका छन्।

सबै एकजुट भएर एउटै आवाजमा यो साझा अभियानलाई अझ सशक्त बनाउन पनि उनको अपिल छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू