गोर्खाको नागरिकता मुद्दाबारे तमु धीं यूकेले बुझायो ज्ञापन, तत्कालै ‘एक्सन’ मा गृहमन्त्री


लन्डन- भूतपूर्व ब्रिटिश गोर्खाको वंशजको नागरिकता निरन्तरतासहितका एजेण्डा समेटेर तमु धीं यूकेले ज्ञापनपत्र पेश गरेलगत्तै गृहमन्त्री सुदन गुरुङ ‘एक्सन’ मा उत्रिएका छन्।
सोमबार तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टीमले गृहमन्त्रालयमा मन्त्री गुरुङलाई भटेर ज्ञापनपत्र बुझाएलगत्तै यस विषयमा प्रतिवेदन पेश गर्नका लागि तत्काल कार्यदल गठन गर्न उनले मन्त्रालयका सचिवलाई निर्देशन दिएका हुन्।
यसअघि बाढीपीडितका लागि राहत लिएर नेपाल पुगेलगत्तै तमु धीं यूके टीमले गृह मन्त्रालय पुगेर मन्त्री गुरुङसंग भेटवार्ता गरेको हो। त्यसअवसरमा संस्थाको तर्फबाट अध्यक्ष गुरुङले गृहमन्त्रीसमक्ष एक ज्ञापनपत्र बुझाएका थिए।
भूतपूर्व गोर्खा समुदायको चासो र महत्वका कयौं एजेन्डा समावेश ज्ञापनपत्रमा भूतपूर्व गोर्खा सैनिकहरुको वंशजको नागरिकता निरन्तरता, समान पेन्सनलगायतका संवेदनशील मुद्धामा नेपाल सरकारबाट प्रभावकारी पहलको माग गरिएको छ।
ज्ञापनपत्र बुझाउँदै अध्यक्ष गुरुङले भूतपूर्व गोर्खाहरुको मुद्धालाई सामान्य गैरआवासीय नेपालीका रुपमा मात्र नहेरी विशेष रुपमा सम्बोधन गर्न जरुरी रहेको बताउँदै त्यसतर्फ मन्त्री गुरुङको ध्यान आकर्षण गराएका थिए।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले तमुधिं यूकेले उठाएका विषयहरुलाई गम्भीरतापूर्वक लिने र आवश्यक एक्सनका लागि अघि बढाउन पहल गर्ने आश्वासन दिए । उनले तत्काल ज्ञापनपत्रमा तोक लगाएर यस सम्बन्धमा एक महिनाभित्र प्रतिवेदन पेश गर्ने ‘म्यान्डेट’ सहित कार्यदल गठन गर्न सचिवलाई निर्देशन दिएका हुन्।

सोही अवसरमा अध्यक्ष गुरुङले गृहमन्त्री गुरुङलाई तमु धीं यूकेको मानार्थ आजीवन सदस्यता प्रदान गर्दै संस्थाको ब्याज र टाइ हस्तान्तरण गरेका थिए । गृहमन्त्रीसंगको भेटका क्रममा तमु धीं यूके महासचिव डा विशाल गुरुङले संस्थाको स्थापनादेखि अहिलेसम्म भएका महत्वपूर्ण उपलब्धिहरु, च्यारिटी कार्यहरुलगायतबारे जानकारी गराएका थिए । सचिव विमल गुरुङले ज्ञापनपत्र वाचन गरेर सुनाएका थिए।
गृहमन्त्रीसंगको भेटमा तमु धीं यूके वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङ पनि सहभागी थिए । तमु धीं यूके र गृहमन्त्रीबीच भेटको संयोजन सांसद विना गुरुङ, बेलायतस्थित काउन्सिलर ज्ञानप्रसाद गुरुङलगायतले गरेका थिए।
यसअघि बाढीपीडितका लागि करिब १ करोड ३१ लाख रुपैयांको राहतसहित तमु धीं यूकेको ६ सदस्यीय टीम अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा आइतबार बेलायतबाट नेपाल प्रस्थान गरेको थियो । सोमबार दिउंसो नेपाल पुग्दा तमु धीं यूके टीमलाई पत्रकारहरु डण्ड गुरुङ, आसगुरुङसहितको टीमले स्वागत गरेको थियो।
तमु धीं यूकेले बेलायतबाट जुटाएको राहत कोषमध्ये १ करोड ११ लाख ११ हजार ११ रुपैयां प्रधानमन्त्री राहत कोषमा जम्मा गराएको छ भने बाँकी करिब २० लाख रुपैयांको राहत बाढीप्रभावित क्षेत्रमै पुगेर बांड्ने योजना छ । तमु धीं यूके टीमले मंगलबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई भेटेर सहयोग चेक हस्तान्तरण गर्ने कार्यक्रम छ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


