आइतबार, २० सेप्टेम्बर, २०२६
16:05 | २०:५०

बाढीपीडितका लागि एक करोड ३१ लाख बोकेर नेपाल जांदै तमुधिं यूके

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२६

लन्डन । तमुधिं यूकेले भोटेकोशी बाढी पीडितका लागि करिब एक करोड, ३१ लाख, ११ हजार, एकसय ११ रुपैयांको राहत बोकेर आज सांझ नेपाल प्रस्थान गर्दैछ ।

संकलित रकममध्ये एक करोड, ११ लाख, ११ हजार एकसय ११ रुपैयां प्रधानमन्त्री राहत कोषमा दिइने र करिब २० लाख रुपैयां बाढी प्रभावित क्षेत्रमै गएर राहत वितरणमा खर्च गरिने संस्थाले जनाएको छ ।

बाढी पीडितका लागि सञ्चालित राहत अभियानबारे जानकारी दिन आइतबार तमु भवन मिचेटमा आयोजित पत्रकार सम्मेलनमा संस्थाले सो जानकारी दिएको हो ।

नेपाल पुगेर अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र गृहमन्त्री सुदन गुरुङलाई चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको महासचिव डा. विशाल गुरुङले जानकारी दिए ।

राहत वितरणका लागि ६ जनाको टिम १० दिनकालागि नेपाल प्रस्थान गर्न लागेको छ ।

बाढी प्रभावित क्षेत्रमै गएर राहत वितरण गर्ने योजना समेत टोलीको छ ।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले १० दिनका लागि आफू, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङ नेपाल जाने जनाए । सबैजना आफ्नै खर्चमा नेपाल जान लागेका हुन् ।

अध्यक्ष गुरुङले २६ अगष्टको विनाशकारी बाढी लगत्तै नेपाली मेला स्थगित नगर्ने बरु उक्त मेलालाई च्यारिटीमा केन्द्रित गर्ने निर्णय गरि चन्दा संकलन शुरु गरिएको बताए ।

राहत संकलन अभियान अगाडि बढ्ने बित्तिकै बेलायतस्थित विभिन्न संघसंस्था र नेपाली मेलाका आगन्तुकले स्वतस्फूर्त सहयोग गरेको जनाउंदै अध्यक्ष गुरुङले सबै दाताप्रति आभार व्यक्त गरे ।
तमुधिं यूकेले गत महिना लन्डनमा आयोजित १७ औं नेपाली मेलालाई बाढी पीडितप्रति केन्द्रित गरेको थियो ।

मेलामा भएको वचत, संस्थाको ट्रेल वाक च्यारिटी, संस्थाका पदाधिकारी तथा सदस्यहरु र बेलायतका अन्य विभिन्न संघसंस्थाबाट प्राप्त सहयोग संस्थामार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न लागिएको हो।

पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिंदै धन्यवाद दिएका थिए भने महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

महासचिव गुरुङले तमुधिं यूकेले नेपाली मेलाबाट मात्र चन्दा संकलन नगरेको प्रष्ट पार्दै यसमा सबैतिरबाट सहयोग प्राप्त भएको जनाए ।

सो अवसरमा मिडिया सेक्रेटरी एस के गुरुङले पत्रकारहरुको परिचय दिएका थिए भने अध्यक्ष र आमा समूह अध्यक्षले सम्मान गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू