विद्यार्थी डिपेन्डेन्ट भिजामा यूके आएर डेढ वर्षमै विजनेश


लन्डन– बेलायतमा बसोबास गर्ने उपभोक्ताहरूमाझ नेपाली उत्पादनहरू पुर्याउने उद्देश्यका साथ सञ्चालित अनलाइन प्लेटफर्म ‘योर काठमाडौँ’ ले सफलतापूर्वक पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ। गत सेप्टेम्बर ९ मा कम्पनीले स्थापनाको एक वर्ष पूरा गरेको हो।
बिष्ट ग्रुप लिमिटेड अन्तर्गत सञ्चालित यस प्लेटफर्ममार्फत हाल ४०० बढी नेपाली खाद्यान्न तथा अन्य सामग्री बिक्री-वितरण हुँदै आएका छन्। अधिकांश उत्पादन नेपालबाटै आयात गरिएका छन् भने नेपाल फुड्स तथा अन्य आयातकर्ताहरूमार्फत आउने लोकप्रिय ब्रान्डहरू (जस्तै वाइवाइ चाउचाउ आदि) पनि उपलब्ध छन्। कम्पनीले अहिले बेलायत तथा आयरल्यान्डमा सेवा पुर्याउँदै आएको छ।
कम्पनीका संस्थापक तथा निर्देशक भूपेन्द्र बिष्टका अनुसार सन् २०२४ को मध्यतिर वेबसाइट निर्माणको काम सुरु गरी यो व्यवसाय सञ्चालनमा ल्याइएको हो। “हामीले हालै मात्र राज पाण्डेको नेतृत्वमा रहेको राष्ट्रिय पोशाक घर यूकेसँग सहकार्य गरी नेपाली पोशाकहरू पनि प्लेटफर्ममा समावेश गरेका छौँ,” निर्देशक बिष्टले भने, “यसै गरी गत महिनादेखि बेलायतमा रहेका नेपाली गृहिणीहरूले तयार पारेका सेलरोटी तथा डोनटहरू ग्राहकसम्म पुर्याउन थालेका छौँ। हामीले बेलायतमै नेपाली गृहिणीहरूलाई घरेलु अचार उत्पादन गर्न पनि प्रोत्साहन गरिरहेका छौँ।”
आगामी दिनमा रिटेल (खुद्रा) बिक्री सुरु गर्ने र युरोपका अन्य मुलुकहरूमा समेत निर्यात विस्तार गर्ने योजना कम्पनीको छ। यसका साथै सन् २०२७ सम्म आफ्नै वेयरहाउस (गोदाम) भाडामा लिएर सेवा अझ व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

यस कम्पनी सञ्चालनमा निर्देशक बिष्टलाई उनकी धर्मपत्नी काव्या प्रधानको पूर्ण सहयोग छ। कम्पनीमा हाल बेलायतमा अध्ययनरत ३ जना नेपाली विद्यार्थी तथा नेपालबाट १ जना छात्रले ग्राफिक्स र सोसल मिडिया व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका छन्। हालै विकास नेपालसंगको सहकार्यमा क्याम्डेन टाउनमा ‘झोल मोमो’ आउटलेट सुरु गरेका बिष्ट बेलायत पढ्न आउने नेपाली विद्यार्थीहरूलाई उद्यमी बन्ने दिशामा प्रोत्साहन गरिनुपर्ने जनाउँछन् ।
नेपालको बैतडी (पाटन) स्थायी घर भएका भूपेन्द्र बिष्ट सन् २०२३ जनवरीमा बेलायत आएका हुन्। बेलायत आउनुअघि उनले नेपालमा नेबिको, ज्योति ग्रुप, मङ्गगलम पाइप र एमएडब्लु ग्रुप जस्ता प्रतिष्ठित कम्पनीहरूमा ब्रान्ड म्यानेजर तथा मार्केटिङ क्षेत्रमा अनुभव हासिल गरेका थिए। हाल उनी वेस्टमिन्स्टर काउन्सिलमा पूर्णकालीन रूपमा कार्यरत छन्।
नेपाल र बेलायतमा व्यापार गर्ने शैली पूर्ण रूपमा फरक भएपनि यूकेमा बजारको कुनै समस्या नरहेको र आगामी दिनमा थप ग्राहककेन्द्रित सेवा विस्तार गर्दै लैजाने कम्पनीले जनाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


