आइतबार, २० सेप्टेम्बर, २०२६
22:03 | ०२:४८

बैंकिङ कारोबारमा राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्था स्थगन गर्न गोर्खा सत्याग्रहको माग

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२६

लन्डन । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपालले नेपाली बैंकिङ कारोबारका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाबारे गम्भीर ध्यानाकर्षण भएको बताउंदै यसलाई तत्काल स्थगन गर्न माग गरेको छ ।

समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीलाई एक पत्र पठाउंदै ब्रिटिश गोर्खा समुदायका धेरै परिवारको नियमित पेन्सन तथा अन्य वैधानिक रकम नेपालस्थित बैंक खातामार्फत प्राप्त हुने गरेको र यदि तोकिएको अवधिभित्र बैंक खाता अद्यावधिक गर्न नसके सम्बन्धित खातावालामात्र नभई उनीहरूमाथि आश्रित परिवारका सदस्यहरूसमेत आफ्नो वैधानिक आम्दानी तथा पेन्सनको पहुँचबाट वञ्चित हुन सक्ने गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

नेपालमा बैंक खाता तथा पेन्सनमा निर्भर रहेका ज्येष्ठ ब्रिटिश गोर्खा नागरिकहरूको हकमा उनीहरूलाई नेपालमै उपस्थित हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना नहुने गरी दूतावासमार्फत वा अन्य वैकल्पिक माध्यमबाट आवश्यक प्रक्रिया पूरा गर्न सकिने सहज व्यवस्था मिलाइदिन पहल गरिदिन समेत पत्रमा अनुरोध गरिएको छ ।

‘हामी राष्ट्रिय परिचयपत्रको महत्व तथा बैंकिङ प्रणालीलाई सुरक्षित, व्यवस्थित र अद्यावधिक बनाउने सरकारको उद्देश्यप्रति पूर्णतः सकारात्मक छौँ। तथापि, विदेशमा बसोबास गर्ने ज्येष्ठ नागरिक, पूर्वगोर्खा सैनिक तथा अन्य नेपाली नागरिकको विशेष परिस्थितिलाई समेत ध्यानमा राखी व्यावहारिक र मानवीय दृष्टिकोण अपनाउनु आवश्यक देखिन्छ’, पत्रमा भनिएको छ, ‘अतः ब्रिटिश गोर्खा समुदायका नागरिकहरूको वर्तमान अवस्था र व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने तथा बैंक खाता अद्यावधिक गर्ने प्रक्रिया पूरा गर्न पर्याप्त समय उपलब्ध गराउने, वैकल्पिक व्यवस्था मिलाउने वा सम्बन्धित व्यवस्था कार्यान्वयन केही अवधिका लागि स्थगित-सहजीकरण गर्ने सम्बन्धमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायहरूसँग आवश्यक पहल तथा पत्राचार गरि दिनु हुन महामहिमज्यूसमक्ष हार्दिक अनुरोध गर्दछौँ।’

पत्र जस्ताको तस्तैः

महामहिम कार्यवाहक राजदूत
श्री विपिन दुवाडीज्यू
नेपाली राजदूतावास
लन्डन, संयुक्त अधिराज्य

मितिः २० अगस्ट २०२६

विषयः नेपाली बैंकिङ कारोबारका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाबारे ।

महामहिमज्यू,

उपरोक्त विषयमा नेपाल राष्ट् बैंकबाट जारी भएको हालैको निर्देशन/परिपत्र अनुसार नेपालमा सञ्चालित, नेपाल बैंक लिमिटेड,वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खाताहरू अद्यावधिक गर्दा राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण अनिवार्य रूपमा समावेश गर्नु पर्ने तथा तोकिएको समय भित्र खाता अद्यावधिक नगरेमा बैंकिङ कारोबारमा कठिनाइ उत्पन्न हुन सक्ने भन्ने सूचना सार्वजनिक भएको विषय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाल बाहिर बसोबास गर्ने नेपाली नागरिक मध्ये विशेषगरी ब्रिटिश गोर्खा समुदायका ज्येष्ठ नागरिक तथा पूर्वगोर्खा सैनिकहरू यस व्यवस्थाबाट प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अवस्था देखिएको छ। लामो समयदेखि संयुक्त अधिराज्यमा बसोबास गर्दै आउनु भएका धेरै जसो ज्येष्ठ गोर्खा नागरिक उमेर, स्वास्थ्य, पारिवारिक तथा अन्य व्यवहारिक कारणले तत्काल नेपाल गई राष्ट्रिय परिचय पत्र प्राप्त गर्ने वा बैंक खाता सम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्ने अवस्थामा हुनु हुन्न।

यस विषयको अर्को महत्वपूर्ण पक्ष भनेको ब्रिटिश गोर्खा समुदायका धेरै परिवारको नियमित पेन्सन तथा अन्य वैधानिक रकम नेपाल स्थित बैंक खातामार्फत प्राप्त हुने गरेको छ। यदि तोकिएको अवधिभित्र बैंक खाता अद्यावधिक गर्न नसकेको कारण बैंकिङ कारोबारमा रोकावट वा अन्य कुनै प्रतिबन्ध उत्पन्न भएमा, सम्बन्धित खातावालामात्र नभई उहाँहरूमाथि आश्रित परिवारका सदस्यहरूसमेत आफ्नो वैधानिक आम्दानी तथा पेन्सनको पहुँचबाट वञ्चित हुन सक्ने गम्भीर अवस्था सिर्जना हुन सक्छ।

हामी राष्ट्रिय परिचयपत्रको महत्व तथा बैंकिङ प्रणालीलाई सुरक्षित, व्यवस्थित र अद्यावधिक बनाउने सरकारको उद्देश्यप्रति पूर्णतः सकारात्मक छौँ। तथापि, विदेशमा बसोबास गर्ने ज्येष्ठ नागरिक, पूर्वगोर्खा सैनिक तथा अन्य नेपाली नागरिकको विशेष परिस्थितिलाई समेत ध्यानमा राखी व्यावहारिक र मानवीय दृष्टिकोण अपनाउनु आवश्यक देखिन्छ।

अतः ब्रिटिश गोर्खा समुदायका नागरिकहरूको वर्तमान अवस्था र व्यवहारिक कठिनाइलाई मध्यनजर गर्दै, राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने तथा बैंक खाता अद्यावधिक गर्ने प्रक्रिया पूरा गर्न पर्याप्त समय उपलब्ध गराउने, वैकल्पिक व्यवस्था मिलाउने वा सम्बन्धित व्यवस्था कार्यान्वयनलाई केही अवधिका लागि स्थगित/सहजीकरण गर्ने सम्बन्धमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायहरूसँग आवश्यक पहल तथा पत्राचार गरि दिनु हुन महामहिमज्यू समक्ष हार्दिक अनुरोध गर्दछौँ।

विशेषगरी, नेपालमा बैंक खाता तथा पेन्सनमा निर्भर रहेका ज्येष्ठ ब्रिटिश गोर्खा नागरिकहरूको हकमा उनीहरूलाई नेपालमै उपस्थित हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना नहुने गरी दूतावासमार्फत वा अन्य वैकल्पिक माध्यमबाट आवश्यक प्रक्रिया पूरा गर्न सकिने सहज व्यवस्था मिलाइदिन पहल गरि दिनु हुन समेत विनम्र अनुरोध गर्दछौँ।

ब्रिटिश गोर्खा समुदायका नागरिकहरूको दीर्घकालीन हित, सामाजिक सुरक्षा तथा उनीहरूको वैधानिक पेन्सन र बैंकिङ पहुँचमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले प्रस्तुत गरिएको यस अनुरोधलाई सकारात्मक रूपमा ग्रहण गरी सम्बन्धित नेपाल सरकारका निकायहरूसँग आवश्यक समन्वय तथा पहल गरि दिनु हुनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ।

धन्यवाद।

भवदीय,

कृष्ण बहादुर राई
प्रमुख संयोजक
ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपाल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू