नेपालका बाढीपीडितको सहयोगार्थ आर्को मुखर्जीले लाइभ कन्सर्ट गर्ने


लन्डन – लोकप्रिय गायक आर्को मुखर्जीले नेपालका बाढीपीडित समुदायको सहयोगार्थ भर्चुअल लाइभ कन्सर्ट गर्न लागेका छन्।
आइतबार यूके समय दिउँसो २ बजे (नेपाल समय अपरान्ह ६:४५ बजे) हेल्पनेपाल नेटवर्कको फेसबुक पेजमा गएर उक्त कन्सर्ट हेर्न सकिने छ।
“हेल्पनेपाल नेटवर्कको फेसबुक पेजमा गएर लाइक गर्न हामी सबै मित्रहरुलाई आग्रह गर्दछौं। उक्त पेज लाइक गर्ने सबैलाई कार्यक्रम लाइभ हुनासाथ नोटिफिकेशन आउने छ,” हेल्पनेपाल नेटवर्क युकेका महासचिव प्रदिप पनेरुले भने।
उनले उक्त कन्सर्ट निशुल्क भएको र युके समय दिउँसो २ बजे हेल्पनेपाल नेटवर्कको फेसबुक पेजमा गएर लाइभ हेर्न सकिने जनाए।
त्यस्तै हेल्पनेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधानले गएको तीन सातादेखि हेल्पनेपाल नेटवर्कका स्वयंसेवकहरु प्रभावित ठाउँमै गएर खाद्यान्न, औषधि, त्रिपाल, खाना पकाउने भाडाकुडा जस्ता अत्यावश्यक सामान वितरण गरिरहेको जनाए । “तपाईंहरुले गर्नु भएको स्वेच्छिक सहयोग पनि हामीले शतप्रतिशत बाढीपीडित समुदायसम्म पुरयाउने छौं,” उनले भने।
को हुन् आर्को मुखर्जी ?
भारतको कोलकतामा जन्मिएका आर्को मुखर्जी अन्तरराष्ट्रिय रुपमा चिनिएका गायक तथा संगीत अनुसन्धानकर्ता हुन्। उनले नेपालका लोकगायक स्वर्गीय झलक मान गन्धर्वले गएका “तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु दिनदिन,” “अल्लारे नानी केसी माया लाग्ने तिम्रै बेसी” जस्ता गीतहरु आफ्नै शैलीमा गाएका छन्। उनले ‘गन्धर्व सम्मान’ पनि प्राप्त गरेका छन्।
“नेपाल र नेपालीलाई अत्यन्तै माया गर्ने आर्को मुखर्जी नेपालमा हालै भएको विपदका घटनाबाट अत्यन्तै दुखी भएका छन्। विपद पीडितहरुलाई सघाउन उनले यो कन्सर्ट गर्न लागेका हुन्,” हेल्पनेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले भने।
उनले कन्सर्टमा सहभागी हुन संसारभरिका रहेका नेपाली र नेपालका मित्रहरुलाई आग्रह पनि गरे।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


