बसेरी रेस्टुरेन्टको च्यारिटी नाइटबाट बाढी पीडितका लागि १२ लाख ७० हजार


बेलायत । बेलायतको नेवार्कस्थित बसेरी रेस्टुरेन्टले एक च्यारिटी नाइट गरि भोटेकोशी बाढी पीडितका लागि १२ लाख ७० हजार ७ सय ७० रुपैयाँ ६४ पैसा नेपाल पठाएको छ।
बसेरी रेस्टुरेन्टको पहलमा सञ्चालन गरिएको मानवीय अभियानबाट संकलित ६ हजार १४१ पाउन्ड नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको हो।
यो रकम च्यारिटी नाइटमा उपस्थित भएर सहयोग गर्ने ग्राहकहरूबाट मात्र नभई कार्यक्रममा उपस्थित हुन नसकेका धेरै ग्राहक, साथीभाइ, परिवारजन तथा देव बाँडाका प्रिय साथीहरूले समेत आफ्नो तर्फबाट सहयोग पठाएर संकलन भएको रेस्टुरेन्टले जनाएको छ । यस मानवीय अभियानमा बसेरी रेस्टुरेन्टका सम्पूर्ण टिमले पनि साथ सहयोग दिएका थिए।
धादिङको गङ्गाजमुना गाउँपालिका–६, बसेरी हटियाका देव बाँडाको पहलमा सञ्चालन गरिएको यस अभियानमा नेपालमा विपद्बाट प्रभावित तथा पीडित नेपालीहरूको सहयोगका लागि सबैलाई एकजुट हुन आह्वान गरिएको थियो।

“यो रकम मेरो एक्लो प्रयासले संकलन भएको होइन। च्यारिटी नाइटमामा उपस्थित भएर सहयोग गर्ने हाम्रा ग्राहकहरू, उपस्थित हुन नसके पनि सहयोग पठाउने ग्राहक तथा साथीहरू, मेरा सबै प्रिय साथीभाइ, परिवारजन र बसेरी रेस्टुरेन्टका सम्पूर्ण टिमको माया, विश्वास र सहयोगले यो सम्भव भएको हो। तपाईंहरू सबैप्रति म हृदयदेखि नै आभारी छु”- देव बाँडाले भने।
बाँडाले आफूले गरेको पहललाई ठूलो योगदानका रूपमा नभई मातृभूमिप्रतिको माया, जिम्मेवारी तथा नेपाली दाजुभाइ र दिदीबहिनीप्रतिको मानवीय भावनाको एउटा सानो प्रयासका रूपमा लिएको बताए।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


