मंगलबार, १५ सेप्टेम्बर, २०२६
16:09 | २०:५४

बेलायतमा मदिरा किन्दा मोबाइलको ‘डिजिटल आईडी’ प्रयोग गर्न सकिने

नेपाली लिङ्क सेप्टेम्बर १५, २०२६

लन्डन । बेलायतमा मदिरा खरिद गर्दा उमेर प्रमाणित गर्न अब मोबाइल फोनमा रहेको ‘डिजिटल आईडी’ प्रयोग गर्न सकिने भएको छ। नयाँ व्यवस्थाअन्तर्गत इङ्ग्ल्यान्ड र वेल्सका पब तथा पसलहरूले हाल प्रयोग हुँदै आएका भौतिक परिचयपत्रसँगै डिजिटल परिचयपत्र पनि स्वीकार गर्न सक्नेछन्।

सरकारका अनुसार नयाँ व्यवस्थाले ग्राहक तथा कर्मचारी दुवैका लागि उमेर प्रमाणीकरण प्रक्रिया छिटो, सहज र थप सुरक्षित बनाउनेछ। ग्राहकले सरकारी स्वीकृत सूचीमा रहेका पोस्ट अफिस, योटी (Yoti) वा लुसिडिटी (Luciditi) जस्ता सेवा प्रदायकका डिजिटल आईडी एपमध्ये छनोट गर्न सक्नेछन्। नयाँ नियमपछि व्यवसायले अनिवार्य रूपमा भौतिक परिचयपत्र स्वीकार गर्नुपर्ने व्यवस्था भने रहने छैन। यद्यपि सरकारले अधिकांश पब, रेस्टुरेन्ट तथा पसलहरूले परम्परागत भौतिक परिचयपत्र स्वीकार गर्ने क्रम जारी राख्ने अपेक्षा गरेको छ।

डिजिटल आईडी प्रयोग गर्दा ग्राहकले आफ्नो परिचयपत्र नै कर्मचारीलाई दिनुपर्ने छैन। यसको सट्टा मोबाइललाई रिडरमा ट्याप गर्ने वा स्क्यान गर्न मिल्ने क्यूआर कोड देखाएर आवश्यक उमेर मात्र प्रमाणित गर्न सकिनेछ। यसबाट नाम, ठेगाना वा जन्ममितिजस्ता आवश्यकताभन्दा बढी व्यक्तिगत विवरण साझा गर्नुपर्ने अवस्था कम हुने सरकारको भनाइ छ।

डिजिटल आईडी प्रणालीमा अरू व्यक्तिको मोबाइल वा परिचय प्रयोग गरेर उमेर प्रमाणीकरण गर्न नसकिने गरी सुरक्षा व्यवस्था गर्नुपर्नेछ। प्रयोग भइरहेको डिजिटल आईडी सम्बन्धित व्यक्तिकै हो भन्ने सुनिश्चित गर्ने प्रविधि एपमा समावेश हुनुपर्नेछ। उदाहरणका लागि योटीको डिजिटल आईडी एपमा प्रयोगकर्ताको अनुहार स्क्यान गरेर दर्ता भएको व्यक्तिसँग मेल खाएपछि मात्र लगइन गर्न सकिन्छ। त्यसपछि एपले सीमित समयका लागि क्यूआर कोड तयार गर्छ, जसलाई व्यवसायले स्क्यान गरी उमेर प्रमाणीकरण गर्न सक्छ। समयसीमा राखिएको क्यूआर कोडलाई अरूलाई पठाएर वा साझा गरेर दुरुपयोग गर्ने सम्भावना कम हुने बताइएको छ।

डिजिटल गभर्नमेन्ट मन्त्री स्टेफनी पिककले डिजिटल आईडीको विकल्प उपलब्ध हुँदा मानिसले भौतिक परिचयपत्र बोकिरहनु वा संवेदनशील व्यक्तिगत विवरण अरूलाई दिनुपर्ने आवश्यकता कम हुने बताएकी छन्। यसले विशेषगरी राति बाहिर निस्कँदा मानिसलाई थप सुरक्षित महसुस गराउने उनको भनाइ छ। बेलायतको आतिथ्य क्षेत्रको व्यापारिक संस्था यूकेहस्पिटालिटीका प्रमुख कार्यकारी एलेन सिम्पसनले नयाँ व्यवस्थालाई ‘सकारात्मक कदम’ भनेका छन्। डिजिटल आईडी लागू गर्दा होटल, पब र रेस्टुरेन्ट व्यवसायमाथि अनावश्यक आर्थिक तथा प्रशासनिक भार नपर्ने गरी सरकारसँग सहकार्य गरिने उनले बताएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू