भूतपूर्व गोर्खा सैनिकको सहयोगार्थ महिलाहरुले गरे १०० किलोमिटर लामो पदयात्रा


लण्डन- किङ्स गोर्खा आर्टिलरी (केजीए) को महिला रिले टोलीले १०० किलोमिटर लामो ‘ट्रेलवाकर रिले’ पदयात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । १२ सदस्यीय उक्त महिला टोलीले १०० किलोमिटरको दूरी करिब २१ घण्टामा पूरा गरेको हो।
नेपालमा रहेका भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारको सहयोगार्थ उक्त च्यालेन्ज आयोजना गरिएको थियो।
यही सेप्टेम्बर ११ देखि १३ तारिखसम्म आयोजित च्यालेन्ज पूरा गरेपछि रिले टोलीकी क्याप्टेन ज्योति रानाले भनिन्, “जब मैले १०० किमी ट्रेलवाकर रिलेको बारेमा पहिलोपटक सुनेँ, मलाई निकै अचम्म लाग्यो र तुरुन्तै गोर्खा समुदायका लागि केही अर्थपूर्ण काम गर्ने यो एउटा उत्कृष्ट अवसर हुनेछ भन्ने सोचेँ। आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किएर आफूलाई चुनौती दिने यो सही समय हो भन्ने मलाई लाग्यो। हामी सबैले गर्व र सफलताको अद्भुत अनुभूति गर्यौँ। यो हाम्रा लागि निकै स्मरणयोग्य अनुभव रह्यो। यसले टिमवर्कले नै सपना साकार पार्छ भन्ने कुरालाई साँचो अर्थमा प्रमाणित गरेको छ।”
पोर्ट्समथ नजिकै रहेको क्विन एलिजाबेथ कन्ट्री पार्कबाट सुरु भएको पदयात्रा ब्राइटन रेसकोर्स पुगेर सम्पन्न भएको थियो।

उक्त टोलीमा निलम, सुबिता, रेखा, सृष्टि, लक्ष्मी, अनुशा, विष्णु, ज्योति, अनिता, सामन्था, स्वस्तिका र माया सहभागी थिए।
पदयात्राका प्रायोजकहरुमध्ये एक ए-स्टार फाइनान्सियल सोलुसन्स युकेका प्रबन्ध निर्देशक मिन दर्लामीले टोलीको प्रशंसा गर्दै भने, “तपाईंहरूको दृढ सङ्कल्प, प्रतिबद्धता र टिम स्पिरिट साँच्चै प्रशंसनीय छ र यसले धेरैलाई प्रेरणा दिनेछ। हामीलाई तपाईंहरूको साथमा उभिन पाउँदा गर्व लागेको छ।”
च्यालेन्ज पूरा गरेपछि सहभागीहरूलाई स्वयंसेवकहरू र गोर्खा पाइपरहरूले स्वागत गरेका थिए। सबै सहभागीहरुलाई स्वादिष्ट नेपाली गोर्खा करीका साथै पदक पनि प्रदान गरिएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


