मंगलबार, १५ सेप्टेम्बर, २०२६
14:18 | १९:०३

लन्डनमा पशुपतिनाथ मन्दिरको तीज- सयौं सहभागी, बाढीपीडितलाई जुटाइयो सहयोग

नेपाली लिङ्क सेप्टेम्बर १५, २०२६

लन्डन- नेपाली महिलाहरूको विशेष पर्व तीज बेलायतमा पनि मनाइएको छ।

सोमबार पशुपतिनाथ मन्दिर लन्डनको आयोजनामा प्लमस्टेडस्थित एशिअन कम्युनिटी सेन्टरमा ६ सय बढी नेपाली महिलाहरूको सहभागितामा तीज मनाइयो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औपचारिक सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्थानीय रोयल बरो अफ ग्रीनवीचका मेयर डेभिड गार्डनरले तीजको शुभकामना दिए। उनले स्थानीय क्षेत्रमा नेपाली समुदायले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै नेपाली समुदायसंग सहकार्य निरन्तर र व्यापक बनाउन आफूहरु तत्पर रहेको बताए।

नेपालमा आएको बाढीको विपदप्रति दुःख व्यक्त गर्दै मेयर गार्डनरले प्रभावितहरूका लागि भइरहेको सहयोग अभियानमा ऐक्यबद्धता जनाए।

त्यस अवसरमा काउन्सिलर गौमाया गुरुङ, मन्दिरकी संरक्षक सरिता पौडेल, संस्थापक अध्यक्ष होम शर्मा, आरजीएनएस एवं जिगेसा पूर्व अध्यक्ष लीलादेवी गुरुङलगायतले तीजको शुभकामना दिँदै बाढीपीडित सहयोग अभियानप्रति ऐक्यबद्धता जनाएका थिए।

कार्यक्रममा सम्बोधन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले मन्दिरका गतिविधि, उपलब्धि र भावी योजनाबारे जानकारी दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।

उनले नेपालमा विपद्का बेला सहयोग गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अभियान सञ्चालन गरिएको बताए। मन्दिरको तर्फबाट संकलित सहयोग चांडै प्रधानमन्त्री राहत कोषमार्फत वितरण गरिने प्रतिबद्धता अध्यक्ष पाण्डेले जनाए।

कार्यक्रम संयोजक तथा मन्दिर व्यवस्थापन समितिकी उपाध्यक्ष तारा भट्टराईले स्वागत मन्तव्य दिंदै यस वर्षको तीज कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नराखी नेपालका बाढीपीडितलाई सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको बताइन्।

कार्यक्रमको सञ्चालन मन्दिरका ट्रस्टी संयोजक नरेन्द्र कँडेलले गरेका थिए। कँडेलले बाढीका कारण तीज कार्यक्रम स्थगित वा रोक्नुको सट्टा कार्यक्रमलाई निरन्तरता दिँदै त्यसैमार्फत बाढी प्रभावितहरूका लागि केही सहयोग जुटाउने उद्देश्य राखिएको बताए।

कार्यक्रममा स्थानीय काउन्सिलरहरू, बेलायतस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि तथा साउथ इष्ट लन्डनस्थित भारतीयसहित अन्य समुदायका प्रतिनिधिहरूको समेत सहभागिता थियो।

मन्दिरले यस वर्षको तीज कार्यक्रमबाट संकलित सम्पूर्ण रकम बाढीपीडितको सहयोगमा पठाउने जनाएको छ। साथै जनैपूर्णिमा, कृष्णाष्टमीलगायत पछिल्लो अवधिमा मन्दिरमा संकलित रकमसमेत बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरिएको छ। उक्त रकम केही दिनभित्र सहयोग गरिने मन्दिरले जनाएको छ।

कार्यक्रमअघि सोमबार बिहान पशुपतिनाथ मन्दिरमा दुई चरणमा तीज विशेष पूजा तथा आरती गरिएको थियो। मन्दिरका पण्डितहरूको सहभागितामा पूजा सम्पन्न भएपछि दिउँसो एशिएन कम्युनिटी सेन्टरमा औपचारिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।

औपचारिक कार्यक्रमपछि संयोजक तारा भट्टराईले सांस्कृतिक सत्र सञ्चालन गरिन्। गोकुल न्यौपाने र टिमले भजनकीर्तन प्रस्तुत गरे डीजे हेम विष्टले विभिन्न तीन गीतहरु बजाएर उपस्थित दिदीबहिनीहरु नचाए।।

यस वर्ष विगतको तुलनामा तीजको उल्लास केही कम देखिए पनि सहभागी महिलाहरूले बाढीपीडितका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए।

कार्यक्रम व्यवस्थापनमा मन्दिरका ट्रस्टी, व्यवस्थापन समिति तथा स्वयंसेवकहरूको टोली सक्रिय थियो। सहभागीहरूका लागि फलफूल, पानी तथा चियाको समेत व्यवस्था गरिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू