सोमबार, १४ सेप्टेम्बर, २०२६
17:05 | २१:५०

पञ्चासे हरपन डाँडा समाज यूकेद्वारा बाढीपीडितका लागि १३ लाख सहयोग

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२६

लण्डन- पञ्चासे हरपन डाँडा समाज यूकेले नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको सहयोगका लागि रु. १३ लाख सहयोग रकम तमु धीं यूकेमार्फत हस्तान्तरण गरेको छ।

तमु धीं यूकेको मिचेटस्थित भवनमा सोमबार आयोजित कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो। कार्यक्रम तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा तमु धीं यूकेका ट्रस्टी सूर्य गुरुङ, ट्रस्टी तथा वर्तमान अध्यक्ष ज्ञाम गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, सचिव विमल गुरुङ तथा आधिकारिक फोटोग्राफर मिलन तमुको उपस्थिति थियो।

त्यसैगरी, पञ्चासे हरपन डाँडा समाज यूकेका अध्यक्ष देवकाजी गुरुङ तथा उनकी धर्मपत्नी रील शुभा गुरुङ, उपाध्यक्ष रवि गुरुङ, कोषाध्यक्ष कृष्ण घले, महासचिव प्रकाश गुरुङ तथा श्रीमती सङ्गीना गुरुङ साथै सल्लाहकार मोन गुरुङ र श्रीमती धर्मावती गुरुङको सहभागिता थियो।

कार्यक्रममा पञ्चासे हरपन डाँडा समाज यूके अध्यक्ष देवकाजी गुरुङले आफूहरू गुरुङ समुदायसँग सम्बन्धित भएकाले तमु धीं यूकेलाई साझा तथा अभिभावकीय संस्थाका रूपमा लिँदै आएको बताउँदै बाढीपीडितका लागि संकलित सहयोग रकम तमु धीं यूकेमार्फत हस्तान्तरण गरिएको जानकारी दिए। उनले आगामी दिनमा थप सहयोग रकम संकलन भएपनि तमु धीं यूकेमार्फत नै पीडितसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

तमु धीं यूकेका सचिव विमल गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा पञ्चासे हरपन डाँडा समाज यूकेका महासचिव प्रकाश गुरुङले समाजका निकट बाढीपीडित सात परिवारलाई प्रतिपरिवार रु. ५० हजारका दरले कुल रु. ३ लाख ५० हजार सहयोग उपलब्ध गराइदिन अनुरोध गरे । उक्त रकम रु. १३ लाखकै सहयोगबाट उपलब्ध गराउन अनुरोध गरिएको हो।

कार्यक्रममा तमु धीं यूकेले सञ्चालन गरेको बाढीपीडित सहयोग अभियानमा सहकार्य गर्दै महत्वपूर्ण योगदान पुर्‍याएकोमा पञ्चासे हरपन डाँडा समाज यूकेका सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद व्यक्त गरिएको थियो।

यसैबीच, २० सेप्टेम्बर २०२६ मा तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष तथा १७औँ नेपाली मेला संयोजक कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ र सचिव विमल गुरुङसहित पाँच सदस्यीय टोली नेपाल जाने जानकारी दिइएको छ।

उक्त टोलीले विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग रकम सम्बन्धित बाढीपीडित परिवारसम्म प्रत्यक्ष रूपमा पुर्‍याउने जनाइएको छ।

बाढीपीडितहरूको सहयोगका लागि हातेमालो गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा सहयोगी हातहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू