सोमबार, १४ सेप्टेम्बर, २०२६
14:10 | १८:५५

नेपाली समुदाय वाटफोर्डद्वारा बाढीपीडितलाई ९ लाख ७५ हजार रुपैयाँ सहयोग

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२६

लन्डन । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बेलायतस्थित नेपाली समुदाय वाटफोर्डले ९ लाख ७५ हजार नेपाली रुपैयाँ सहयोग प्रदान गरेको छ।

नेपाली समुदाय वाटफोर्डले सञ्चालन गरेको ‘नेपाल फ्ल्यास फ्लड राहत’ कोष संकलन अभियानमार्फत जुटेको सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।

समुदायका अध्यक्ष लेख गुरुङको पहलमा कार्यसमितिको छलफल र सहमतिपछि राहत संकलन अभियान सुरु गरिएको थियो। अभियानलाई प्रभावकारी बनाउन महासचिव बिनु लामिछानेले समन्वय तथा सम्बन्धित पक्षसँग आवश्यक सहकार्य गर्दै कोष संकलनलाई अघि बढाएकी थिइन्।

अभियानमा वाटफोर्डसहित बेलायतका विभिन्न स्थानमा रहेका नेपाली समुदायका सदस्यले स्वस्फूर्त रूपमा सहयोग गरेका थिए। उनीहरूको सहयोगबाट कुल ९ लाख ७५ हजार नेपाली रुपैयाँ संकलन भएको संस्थाले जनाएको छ। संकलित रकम समुदायका वर्तमान कोषाध्यक्ष प्रदीप घिमिरेले संस्थाको तर्फबाट प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन्।

नेपालमा विपद् आएपछि राहत संकलनमा मात्र नभई पीडितप्रति ऐक्यबद्धता जनाउनसमेत नेपाली समुदाय वाटफोर्ड सक्रिय बनेको थियो। बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा समुदायले वाटफोर्डमा दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरेको थियो।

दीप प्रज्वलन कार्यक्रममा वाटफोर्डका मेयर पिटर टेलरसमेत सहभागी भएका थिए। कार्यक्रममा उनले विपद्को समयमा नेपाली समुदायले देखाएको एकता र सहयोगी भावनाको प्रशंसा गर्दै कठिन परिस्थितिमा समुदायहरू एकजुट भएर सहयोग गर्नु महत्त्वपूर्ण रहेको बताएका थिए।

नेपाली समुदाय वाटफोर्डले अभियानले विपद्को समयमा प्रवासी नेपालीबीच रहेको एकता, मानवीय संवेदना र मातृभूमिप्रतिको जिम्मेवारी पुनः उजागर गरेको जनाएको छ।

संस्थाले राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, समुदायका सदस्य तथा दीप प्रज्वलन कार्यक्रममा सहभागी सबैप्रति आभारसमेत व्यक्त गरेको छ। ‘विपद्को यस कठिन घडीमा हामी नेपालसँगै छौँ’ भन्ने सन्देशसहित समुदायले बाढीपीडितप्रतिको सहयोग र ऐक्यबद्धता जारी राख्ने जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू