आइतबार, १३ सेप्टेम्बर, २०२६
14:32 | १९:१७

पर्वत समाज यूकेद्वारा लोकगायक कृष्ण सुबेदीलाई विदाइ

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२६

लण्डन-  पर्वत समाज यूकेले पर्वतका राष्ट्रिय लोकगायक कृष्ण सुबेदीलाई एक कार्यक्रमबीच विदाइ गरेको छ।

गत शुक्रबार बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष सुरज पौडेलले सुबेदीलाई प्रशंसापत्र प्रदान गर्दै खादा ओढाएर सम्मान तथा विदाइ गरेका हुन्।

पर्वत समाज यूकेको निमन्त्रणामा बेलायत आएका लोकगायक सुबेदीले ४ अप्रिल २०२६ मा आयोजित समाजको च्यारिटी कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।

उनको प्रस्तुतिले कार्यक्रममा सहभागीलाई मनोरञ्जन प्रदान गर्नुका साथै बेलायतमा रहेका पर्वतेहरूलाई आफ्नो जन्मभूमिसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको समाजले जनाएको छ।

विदाइ कार्यक्रममा समाजका उपाध्यक्ष भीमलाल भट्टराई, कोषाध्यक्ष विकास सापकोटा, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल, व्यवसायी प्रवेश केसीलगायतको सहभागिता थियो। कार्यक्रममा कलाकारहरू सबिना बुढामगर, शोभा त्रिपाठी र जमुना रानालगायत पनि उपस्थित थिए।


सो अवसरमा अध्यक्ष पौडेलले सुबेदीले समाजका गतिविधि तथा च्यारिटी कार्यक्रममा पुर्‍याएको योगदानको प्रशंसा गरे।

“सुबेदीले गर्नुभएको योगदानको कदर गर्दै यो प्रशंसापत्र प्रदान गरेका हौं। उहाँको गायन प्रस्तुतिले हाम्रो च्यारिटी कार्यक्रमको शोभा बढाउनुका साथै बेलायतवासी पर्वतेहरूलाई आफ्नो जन्मभूमिसँग जोड्न पनि महत्वपूर्ण योगदान पुर्‍याएको हामीले महसुस गरेका छौं,” पौडेलले भने।

उनले सुबेदीको आगामी सांगीतिक यात्राको सफलताको शुभकामना दिँदै भविष्यमा उनको सांगीतिक करिअर अझ उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू