शनिबार, १२ सेप्टेम्बर, २०२६
12:50 | १७:३५

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

नेपाली लिङ्क सेप्टेम्बर १२, २०२६

लन्डन । नेपाल छंदै उनको पृष्ठभूमि मेडिकल थियो । मेडिसिन पढेकाले स्वास्थ्यतिर बढी रुची राख्थे उनी । काठमाडौं युनिभर्सिटीमा जनरल मेडिसिन पढ्दै गर्दा नै हस्पिटल खोल्ने महत्वकांक्षा उनमा थियो ।

करिब १७ वर्षअघि उच्च शिक्षाका लागि बेलायत आएपछि राजन खकुरालले फार्मेसी पढे । अध्ययनपछि फार्मेसी व्यवसायमा लगानी गरेर केही समय काम पनि गरे ।

यही क्रममा करिअर चेन्ज गरौं भन्ने लागेर केही रिसर्चपछि सन् २०१९ तिर अडियोलोजी अध्ययन गर्न थाले खकुराल । तीन वर्षको कोर्स अनि ६ महिना इन्टर्नसीप गरेर उनी सन् २०२२ मा क्वालिफाइड क्लिनिकल अडियोलोजिष्ट बने । त्यही सालदेखि उनले सेन्ट्रल लन्डनमा आफैंले ‘ह्याम्सटेड इयर केयर’ खोले ।

‘पहिले देखिकै मेरो चाहना पढाइ संगै विजनेश पनि गरौं भन्ने थियो । अडियोलोजी पढाइ सकिएपछि आफैं केही गरौं भनेर सन् २०२२ देखि यो पेशामा आवद्ध भएं’, उनले सुनाए । बेकर स्ट्रिटमा पनि छ उनको यस्तै क्लिनिक ।

स्वीस कटेज र फिन्चले रोड स्टेशन नजिक रहेको उक्त क्लिनिकका निर्देशक खकुरालले कान सफा (बेसिक क्लिन) गर्ने, कानको हेयरिङ टेष्ट, कान परिक्षण गरेपछि रिजल्टको आधारमा हेयरिङ एड (कान सुन्ने उपकरण) उपलब्ध गराउने, रिफरल वा सर्जिकल केसहरुमा अस्पताल वा जीपीतिर रिफर गर्ने उनको मुख्य काम छ । अडियोलोजिकल एसेसमेन्ट एण्ड ट्रिटमेन्ट गर्ने खकुराल बेलायतमा न्यून संख्याका नेपाली अडियोलिष्ट मध्ये एक हुन् ।

कानको श्रवण शक्ति कुन तहमा छ त्यो एसेस गरेर ‘हेयरिङ एड’ प्रदान गर्ने उनले बताए । हेयरिङ एडका मूल्य फरक फरक रेन्जमा उपलब्ध छन् । शनिबारबाहेक अरु ६ दिन खुल्छ उनको क्लिनिक । अरु प्रतिष्पर्धी क्लिनिकको तुलनामा आफ्नो सेवा सस्तो रहेको उनले बताए ।

सेप्टेम्बर महिनामा विशेष अफर रहेको जनाउंदै खकुराल डिस्काउन्ट कोडमार्फत त्यो सुविधा लिन सकिने बताउंछन् ।

‘नेपालीहरु प्रायः डेन्टल र आंखालाई महत्व दिन्छन् तर कानलाई महत्व दिन्नन् जबकि यो त्यतिकै प्राथमिकतामा राख्नुपर्छ’, उनी भन्छन्, ‘सके वर्षमा एक पटक नत्र दुई वर्षमा आफ्नो कान जांच्ने गर्नुस् । कान हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण अंग हो जसले आवाज सुन्न मात्र होइन, शरीरको सन्तुलन कायम राख्न पनि मद्दत गर्छ । त्यसैले यसको नियमित हेरचाह गरौं ।’

उनी बेलायतको नेपाली समुदायमा अन्य स्वास्थ्य जांच जस्तै कानको पनि परीक्षणमा सचेतना जगाउने बेला आएको बताए । ‘नियमित जांच गर्दा केही समस्या रहे तत्काल निवारण गर्न सकिन्छ तर ढिला गर्दा यसले दीर्घकालिन असर पार्न सक्छ’, उनले भने ।

उनले वृद्धवृद्धालाई निशुल्क श्रवण शक्ति परीक्षण गरिदिने पनि बताए । नेपाली कसैलाई इमर्जेन्सी परे फोनमार्फत पनि सरसल्लाह दिने गरेको उनी बताउंछन् ।

बेलायतमा सन् २०१० देखि कानको श्रवण शक्ति जांच्ने क्रम बढ्न थालेको खकुरालले बताए ।

अन्तरराष्ट्रिय धादिङ समाजका अध्यक्ष खकुराल व्यवसायबाहेकको समय समाजसेवामा समेत क्रियाशील छन् । उनी गैर आवासीय नेपाली संघमा समेत लामो समयदेखि आवद्ध छन् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू