क्रिकेटर बसीर यूके फ्रेन्चाइज इरो सुसीको ब्रान्ड एमब्यासडर नियुक्त


लण्डन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्तर्राष्ट्रिय खेलाडी बसीर अहमद बेलायतमा झन्डै ३ दर्जन शाखा रहेको फ्रेन्चाइज रेस्टुरेन्ट चेन इरो सुसीको ब्रान्ड एमब्यासडर नियुक्त भएका छन्।
इरो सुसीका निर्देशक छोङ शेर्पा र क्रिकेटर अहमदबीच आज आयोजित एक समारोहबीच ब्रान्ड एमब्यासडरसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो। यो सम्झौता दुई वर्षका लागि भएको हो।
बसीर अहमद नेपाली क्रिकेटका चर्चित अलराउन्डर हुन्। उनी बायाँहाते ब्याटिङ तथा बायाँहाते बलिङका लागि परिचित छन्।
एमओयू हस्ताक्षरपछि इरो सुसीका निर्देशक छोङ शेर्पाले यो सहकार्य दुवै पक्षका लागि लाभदायी हुने विश्वास व्यक्त गरे।
‘यो नेपाली क्रिकेट खेलाडीका लागि मेरो सानो योगदान हो,’ शेर्पाले भने, ‘बसीर अहमदसँगको यो सहकार्य इरो सुसीका लागि पनि लाभदायी हुने विश्वास लिएको छु।’
ब्रान्ड एमब्यासडर नियुक्त भएपछि अहमदले आफूलाई अवसर प्रदान गरेकोमा निर्देशक शेर्पाप्रति आभार व्यक्त गर्दै प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
यो सहकार्यले बेलायतमा रहेका नेपाली व्यवसायी समुदाय र नेपाली क्रिकेटबीचको सम्बन्ध थप मजबुत बनाउँदै नेपाली खेलाडीलाई व्यावसायिक तथा सामाजिक रूपमा प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।
बसीर अहिले एसीसी प्रिमियर लिग छनोट खेलका लागि मलेसियामा भएकाले यो सम्झौता ‘भर्चुअल’ गरिएको कम्पनीले जनाएको छ।
सम्झौता प्रक्रियामा माया यूके ग्रुपका निर्देशक राज पाण्डे र इरोकी सिभिरा लामा रुइतले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनीहरूले दुवै पक्षबीच सहकार्यका लागि समन्वय तथा एमओयू प्रक्रियालाई अघि बढाउन सहयोग गरेका थिए।
शेर्पाले सन् २०१४ मा बेलायतमा स्थापना गरेको इरो सुसीका शाखा अहिले तीन दर्जन बढी पुगिसकेको छ।
इंग्ल्यान्डबाहिर पहिलोपटक आगामी महिना स्कटल्यान्डको ग्लास्गोमा कम्पनीको फ्रेन्चाइज स्टोर खुल्दैछ। सन् २०३० सम्ममा बेलायतमा एक सय स्टोर सञ्चालनमा ल्याउने लक्ष्य इरो सुसीको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


