बिहीबार, १० सेप्टेम्बर, २०२६
23:26 | ०४:११

बाढीपीडितका लागि ‘स्वेच्छिक योगदान’ गर्न चाहनेलाई अब दूतावासकै बैंक खाता

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२६

लन्डन । नेपालको भोटेकोशी नदीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत, पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन लन्डनस्थित नेपाली दूतावास तीव्र रुपमा लागेको छ । दूतावासले स्वेच्छिक आर्थिक योगदान गर्न इच्छुकलाई सहज होस् भन्ने उद्देश्यले आफ्नो बैंक खाता समेत सञ्चालनमा ल्याएको छ ।

यस विपत्तिको घडीमा बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, व्यक्ति, परोपकारी संस्था, व्यवसायी, नेपालका मित्र तथा शुभेच्छुकहरूलाई मानवीय सहयोग प्रदान गर्न दूतावासले हार्दिक अपिल गरेको छ। दूतावासको नाममा रहेको बैंक खातामा जम्मा हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने प्रतिबद्धता जनाइएको छ।

‘दूतावास पनि सरकारकै निकाय भएकाले बाढी पीडितलाई सहयोग गर्न इच्छुक व्यक्तिलाई सहज होस् भन्ने हिसावले यूकेकै बैंक खाता खोलेका हौं’, कार्यवाहक राजदूत विपिन दुवाडीले भने, ‘यस डेडिकेटेड खातामा जम्मा भएको पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउंछौं ।’

सहयोग रकम पठाउन:

Lloyds Bank
Embassy of Nepal
Sort Code: 30-65-41
Account Number: 53896060

रकम हस्तान्तरण गर्दा ‘पर्पस’ वा ‘रिफरेन्स’ मा अनिवार्य रूपमा ‘डोनेसन’ वा ‘सपोर्ट’ उल्लेख गर्न दूतावासको आग्रह छ।

आर्थिक पारदर्शिता र अभिलेख व्यवस्थापनका लागि सहयोगदाताहरूले बैंक रसिद वा भुक्तानीको प्रमाणको प्रतिलिपि इमेल ठेगाना [email protected] मा पठाउनसमेत अनुरोध गरिएको छ।

दूतावासले यस कठिन समयमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता र सहयोग प्रकट गर्ने प्रत्येक व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रहरूमा ठूलो मानवीय क्षति हुनुका साथै सार्वजनिक पूर्वाधार, निजी सम्पत्ति र आवासहरूमा व्यापक क्षति पुगेको दूतावासले जनाएको छ।

नेपाल सरकारले खोज, उद्धार र राहतका कार्यहरूलाई तीव्रता दिइरहेको भए पनि प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि ठूलो मात्रामा आर्थिक स्रोतको आवश्यकता पर्ने दूतावासले उल्लेख गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू