गोर्खा वार्ता अगाडि बढ्यो, १४ सेप्टेम्बरमा दूतावासमा डिनरसहित छलफल


फाइल तस्विर
लन्डन । बेलायती मन्त्रिमण्डल हेरफेरपछि केही समययता स्थगित भूतपूर्व गोर्खाहरुसंग सम्बन्धित वार्ताले गति लिएको छ ।
लन्डनस्थित नेपाली दूतावासमा आउंदो १४ सेप्टेम्बर, सोमबार रात्रीभोजसहित बेलायती भेट्रान मन्त्री काल्भिन बेली र जी टेन आवद्ध गोर्खा प्रतिनिधिहरुको अनौपचारिक बैठक हुन लागेको हो ।
कार्यवाहक राजदूत विपिन दुवाडीले एकल रुपमा धेरै चरणमा वार्ता गरेपनि जी टेन आवद्ध गोर्खा प्रतिनिधिहरुसंग भेट्रान मन्त्रीको वार्ता हुन लागेको यो पहिलोपटक हो ।
सांझ ६ देखि ८ बजेसम्म तय उक्त अनौपचारिक बैठकमा दुवै पक्षबीच खुलेर कुरा हुने र आत्मीयता समेत झल्कने कार्यवाहक राजदूत दुवाडीको विश्वास छ । यो छलफल ‘सोलुसन ओरियन्टेड’ हुने दुवाडीले जनाएका छन् । उक्त वार्तामा नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूह (एपीपीजी) अध्यक्ष सांसद एलेक्स बेकरको समेत उपस्थिति रहने जनाइएको छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले उक्त भेटघाट भेट्रान मन्त्रीसंग परिचयका लागि भएको र सो अवसरमा गोर्खाहरुले आफ्ना मागबारे ‘रिमाइन्ड’ गराउने बताए। ‘हामी परराष्ट्रमन्त्री शिशिर खनालबाट आशावादी छौं। उहाँले पनि केही गर्नु भएन भने हामी सर्ट नोटिस मै आमरण अनसनमा होमिने छौं’- राईले भने।
तत्कालिन प्रधानमन्त्री किअर स्टारमरको क्याबिनेटमा रक्षामन्त्री रहेका जोन हिलीको राजीनामा र भेट्रान मन्त्री लुइस स्यान्डर जोन्स समेत जिम्मेवारीबाट अलग भएपछि अगाडि बढिरहेको त्रिपक्षीय गोर्खा वार्तामा ‘ब्रेक’ लागेको थियो ।
कार्यवाहक राजदूत दुवाडीले गत सोमबारमात्र बेलायती संसदमा आयोजित नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूहसँग झण्डै डेढ घण्टा लामो बैठकमा भूतपूर्व गोर्खा सैनिकका माग तथा सरोकारका विषयहरूसमेत उठाएका थिए ।
त्यस अवसरमा धेरै अगाडि बढिसकेको त्रिपक्षीय वार्ता स्थगन भइरहंदा गोर्खाहरु निरास हुनेतर्फ दुवाडीले बेलायत पक्षलाई सचेत गराएका थिए ।
गोर्खाहरुले केही समय रोकिएको वार्ताले फेरि गति लिने विश्वास व्यक्त गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


