बुधबार, ९ सेप्टेम्बर, २०२६
21:44 | ०२:२९

‘तीज फर अ कज’ का लागि लन्डन आइपुगे बद्री र दुर्गेश, समिक्षा आउँदै

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२६

लन्डनमा गायकद्धय दुर्गेश थापा र बद्री पंगेनीलाई स्वागत गर्दै आयोजक मिलानोयर इभेन्ट्सका विप्लव रिमाल र प्रकाश रानाभाट।

लन्डन– यही शुक्रबार लन्डनमा आयोजना हुने तीज विशेष कार्यक्रम ‘तीज फर अ कज’मा सहभागी हुन नेपालका चर्चित कलाकारहरू बद्री पंगेनी र दुर्गेश थापा लन्डन आइपुगेका छन्।

बुधबार सांझ लन्डनको हिथ्रो विमानस्थल उत्रिएका कलाकारद्धयलाई आयोजक मिलानोयर इभेन्ट्सका विप्लव रिमाल र प्रकाश रानाभाटले स्वागत गरे।

मिलानोयर इभेन्ट्सको आयोजनामा यही शुक्रबार, ११ सेप्टेम्बर इष्ट लन्डनको म्यानर पार्क स्टेसननजिकै अवस्थित प्रतिष्ठित भेन्यू ‘द रोयल रेजेन्सी’ मा ‘तीज फर अ कज’ आयोजना हुँदैछ।

कार्यक्रममा बद्री पंगेनी र दुर्गेश थापासंगै गायिका समीक्षा अधिकारीले पनि प्रस्तुति दिनेछन्। हाल विदेशमै रहेकी समीक्षा भने विहीबार मात्रै लन्डन आइपुग्ने कार्यक्रम छ ।

यसअघि ‘तीज धमाका २०८३’का रूपमा आयोजना गर्ने तयारी गरिएको कार्यक्रम नेपालमा बाढीको विपद् आएपछि ‘तीज फर अ कज’मा रूपान्तरण गरिएको हो।

लन्डन उत्रिएलगत्तै गायकहरु बद्री पंगेनी र दुर्गेश थापाले बेलायतवासी सबै नेपालीलाई कार्यक्रमको निम्तो दिए । उनीहरुले मौलिक नेपाली परम्पराअनुसार नाचगानसहित तीज पर्व मनाउने र त्यससँगै नेपालका बाढीपीडितहरुका लागि सहयोग जुटाउने अभियानमा साथ दिन आग्रह गरेका छन्।

‘शोकलाई शक्तिमा बदलेर सबैजना एकजुट भएर कार्यक्रममा आउनुहोला । नाचगानको रमाइलो मात्र होइन, बाढीपीडितहरुलाई सहयोग जुटाउने पुण्य कार्यमा सहभागी हुने अवसरका रुपमा समेत लिइदिनुहुन म सबैलाई आग्रह गर्दछु’, गायक पंगेनीले भने ।

गायक दुर्गेश थापाले बेलायत उड्नुअघि ९ दिनसम्म बाढी प्रभावित क्षेत्रमै रहेर राहत वितरणमा संलग्न रहेको सुनाउँदै यसपटक मनोरञ्जनका लागि मात्र नभइ सहयोग जुटाउने उद्धेश्यका साथ लन्डन आएको सुनाए । कार्यक्रमबाट संकलन हुने रकमबाट नेपाल पुगेर फेरि राहत बांड्ने भन्दै उनले बेलायतवासी सबैलाई कार्यक्रममा आएर सहयोग गरिदिन आग्रह गरे ।

प्रतिकुल अवस्थामा धेरै चुनौतीहरुबीच कार्यक्रम आयोजना गरेर सबै वचत रकम बाढीपीडितहरुलाई नै पठाउने आयोजक मिलानोयर इभेन्टसको पहललाई गायकद्धयले प्रशंसा गरे।

त्यस अवसरमा मिलानोयर इभेन्टसका विप्लव रिमाल र प्रकाश रानाभाटले कार्यक्रमका अधिकांश टिकट बिक्री भइसकेको भन्दै इच्छुक दर्शकलाई यथासक्य चांडो आफ्नो सिट सुरक्षित गर्न आव्हान गरे ।

मंगलबार बेलुका नै लन्डन आइपुग्नुपर्ने उडान हिथ्रो विमानस्थलको प्राविधिक गडबढीका कारण इटलीमा ल्यान्ड भएपछि कलाकारद्धय बुधबार बेलुका मात्रै लन्डन आइपुगेका हुन्।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू