आइतबार, ६ सेप्टेम्बर, २०२६
08:45 | १३:३०

घान्द्रुक काम्चे कोने खलक यूकेको भेटघाटमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. गुरुङ

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२६

लन्डन । घान्द्रुक काम्चे कोने खलक यूकेको १५औँ वार्षिक भेटघाट कार्यक्रम गत ५ सेप्टेम्बर शनिबार फार्नबोरोस्थित ग्रेन्ज स्कुलमा सम्पन्न भएको छ ।

विषम परिस्थितिका कारण यस वर्ष कुनै पनि सांस्कृतिक वा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएन । त्यसको सट्टा तम्बुला खेल सञ्चालन गर्दै एकअर्कामा सुःख–दुःख साटियो र विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बेलायत भ्रमणमा रहेकी तिलगंगा आँखा अस्पताल काठमाडौँकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रीता गुरुङको विशेष उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्दै डा. गुरुङले यूकेमा रहेका आफ्नै परिवारका नयाँ पुस्तालाई अध्ययन र सिकाइलाई पहिलो प्राथमिकतामा राख्न प्रेरित गरिन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को कार्यक्रममा भाग लिएर लन्डन आएकी डा. गुरुङले परिवारका सदस्यहरुसंग भेट्न पाउँदा अत्यन्त खुशी लागेको बताइन् ।

सन् २०१२ मा स्थापना भएको यस खलकको वार्षिक भेटघाट उद्घाटन संस्थापक अध्यक्ष गुणराज गुरुङ तथा ज्येष्ठ नागरिकद्वय गम प्रसाद गुरुङ र कुल बहादुर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि डा. रीता गुरुङसहित लामा फाउन्डेसन नेपालका अध्यक्ष एवम् चलचित्रकर्मी लामा अमृत गुरुङ र नायिका रजनी गुरुङलाई विशेष सम्मान गरियो ।

यसै गरी उच्च शिक्षा हासिल गर्ने, विभिन्न पेसागत पदोन्नति पाएका, नयाँ व्यवसाय सुरु गरेका तथा वैवाहिक बन्धनमा बाँधिएका खलकका सदस्यहरूलाई समेत खदा ओढाएर बधाई एवम् सम्मान व्यक्त गरिएको थियो ।

बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा हालै नेपालको भोटेकोशीमा आएको भिषण बाढीका कारण ज्यान गुमाएका विभिन्न व्यक्तिहरुका साथसाथै यस वर्ष स्वर्गारोहण भएका खलकका सदस्य र पितृहरूप्रति १०८ वटा दीप प्रज्वलन गरी १ मिनेट मौन धारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा खलकका अध्यक्ष क्याप्टेन चन्द्र बहादुर गुरुङ नेपालमा रहेकाले उपाध्यक्ष ज्ञान गुरुङले स्वागत मन्तव्य दिएका थिए भने सचिव कृष्ण गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

-पूर्ण गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू