बाढीपहिरो पीडितप्रति ऐक्यबद्धता जनाउन लन्डनमा ‘च्यारिटी सोलिड्यारिटी वाक’


लन्डन । नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै लन्डनमा ‘च्यारिटी सोलिड्यारिटी वाक’ आयोजना गरिने भएको छ।
हेल्प नेपाल नेटवर्क यूकेको आयोजनामा आगामी ५ सेप्टेम्बर २०२६, शनिबार आयोजना हुने ऐक्यबद्धता यात्रामा बेलायतस्थित नेपाली तथा विभिन्न समुदायका संघ–संस्थाका प्रतिनिधि र शुभेच्छुकहरु सहभागी हुने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार सहभागीहरू साँझ ६ बजे ड्यानसन पार्क मेन गेट, वेलिङ्गमा भेला हुनेछन् भने पैदल यात्रा ६ः३० बजे सुरु हुनेछ। प्रहरी एस्कर्टसहित हुने यात्रा ब्ल्याकहिथ पार्क पुगेर समापन हुनेछ।
यात्रा समापनमा एक मिनेट मौनधारण तथा सामूहिक प्रार्थना गरिनुका साथै मैनबत्ती बालेर नेपालमा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूको चिरशान्तिका साथै प्रभावित परिवारहरूको शान्ति, पुनर्मिलन र शीघ्र पुनर्स्थापनाका लागि सामूहिक प्रार्थना गरिने हेल्प नेपाल नेटवर्क यूके अध्यक्ष सचिन श्रेष्ठले जनाए ।
सुरक्षालाई ध्यानमा राख्दै समापनस्थलमा ब्याट्री संचालित मैन बत्ती मात्रै प्रयोग गरिने र वास्तविक मैनबत्ती प्रयोग गर्न कडाइका साथ निषेध गरिएको छ। यात्राका क्रममा भने टर्च वा मोबाइल फोनको लाइट प्रयोग गर्न सकिने आयोजकले जनाएका छन् ।
कार्यक्रममा सहभागी हुन बेलायतस्थित सम्पूर्ण नेपाली समुदाय, संघ–संस्था तथा समुदायका सदस्यहरूलाई आयोजकले आह्वान गरेका छन् । यस दुःखद घडीमा नेपाल तथा बाढीपहिरोबाट प्रभावित परिवारहरूप्रति सामूहिक संवेदना र ऐक्यबद्धता प्रकट गर्न संस्थाका प्रतिनिधिसहित सक्रिय सहभागिता जनाउन श्रेष्ठले आग्रह गरे ।
यसैगरी, अभियानमा आबद्ध भई सहकार्य गर्न इच्छुक संघ–संस्थाहरूलाई आफ्नो संस्थाको लोगो उपलब्ध गराउन पनि आयोजकले अनुरोध गरेका छन् । सहकार्य गर्ने संस्थाहरूले आफ्ना कार्यसमिति सदस्यहरूको सहभागिता सुनिश्चित गर्नुका साथै सामाजिक सञ्जाल तथा अन्य सम्पर्क माध्यमबाट कार्यक्रमको व्यापक प्रचारप्रसार गरी समुदायलाई सहभागी हुन प्रोत्साहित गर्न आग्रह गरिएको छ।
सह आयोजक बुद्ध फाउन्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले नेपालमा भएको विपत्तिबाट प्रभावित समुदायप्रति एकजुटता प्रदर्शन गर्न ठूलो संख्यामा सहभागी हुन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरे।
‘च्यारिटी सोलिड्यारिटी वाक’ ले विपत्तिमा परेको नेपाल तथा पीडित परिवारहरूप्रति बेलायतबाट सामूहिक संवेदना, सद्भाव र एकताको सन्देश प्रवाह हुने आयोजकहरूको विश्वास छ।
सहयोगी संस्थाहरु:
Collective Hearts Foundation, Kutumb International Community Society (KICS), Buddha Foundation UK, Royal Borough of Greenwich Nepalese Society (RGNS), Pasa Puchah Guthi UK, Bexley Nepalese Society, Society of Nepalese Professionals UK, Tibetan Community in Britain, Nepali Youth Association, Nepali Cycling Club UK, Gulmi Jilla Samaaj UK, Jamghat Pariwar UK, Nawalpur Samaj UK र INAS UK

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


