बाढीपीडित राहतमा तमुधिं यूकेको १ करोड १ हजार सहयोग घोषणा

लन्डन- बेलायतको प्रभावशाली नेपाली संस्था तमुधिं यूकेले नेपालको बाढीपीडितहरुका लागि एक करोड रुपैया बढीको आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
संस्थाका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा मंगलबार सांझ भर्चुअल रुपमा बसेको कार्यसमितिको आकस्मिक बैठकले १ करोड १ हजार राहत सहयोग गर्ने निर्णय गरेको उपाध्यक्ष कमल कोने गुरुङले जानकारी दिए ।
गत आइतबार सम्पन्न १७ औं नेपाली मेला संयोजकसमेत रहेका उपाध्यक्ष गुरुङले राखेको एक करोड सहयोगको प्रस्ताव बैठकमा सर्वसम्मत रुपमा पारित भएको थियो ।
सहयोग रकम अब चाँडै नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
हालै सम्पन्न नेपाली मेलाबाट भएको बचत र यही सेप्टेम्बर ११ देखि १३ तारिखसम्म तय च्यारिटी ट्रेल वाल्कर इभेन्टबाट संकलन हुने कोष समेत बाढीपीडित सहयोगका लागि जम्मा गरिने भएको छ ।
त्यस्तै, तमुधिं यूकेका पदाधिकारी तथा सदस्यहरुले व्यक्तिगत स्तरमा पनि सहयोग प्रतिवद्धता गरेका छन् ।
अध्यक्ष जुमकाजी गुरुङले ५ सय ५ पाउण्ड, उपाध्यक्ष कमल कोने गुरुङले ५ सय पाउण्ड, स्पोर्टस् सेक्रेटरी क्या दीपक घलेले ५० हजार रुपैया सहयोग घोषणा गरेका छन् भने तमुधिं आमा समूह र ह्याम्पशायर तथा वकिङ इकाइका तर्फबाट एक हजार पाउण्डका दरले सहयोग प्रतिबद्धता आएको छ ।
तमुधिं यूकेले आफ्नो कार्यसमिति, पूर्व अध्यक्षहरू, ट्रष्टीहरू, सल्लाहकारहरू तथा आजीवन सदस्यहरूबाट समेत थप राहत रकम संकलन गर्ने भएको छ। उक्त राहत संकलन अभियान यही १५ सेप्टेम्बरसम्ममात्र गरिने जानकारी वरिष्ठ उपाध्यक्ष परशु गुरुङले दिए ।
महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको बैठकमा १७औँ नेपाली मेला संयोजक गुरुङले सम्पूर्ण कार्यसमितिको सल्लाह तथा सुझावलाई समेट्दै नेपालका लागि सञ्चालन गरिएको राहत संकलन अभियानमा साथ र सहयोग पु¥याउने सम्पूर्ण सहभागी संस्था, रेष्टुरेन्ट, स्टल तथा सहयोगीहरूप्रति आभार व्यक्त गरे।
अध्यक्ष जुमकाजी गुरुङले नेपालमा आइपरेको विपद्को यस कठिन घडीमा एकजुट भएर राहत संकलन अभियानलाई अघि बढाउन सफल भएकोमा सिंगो कार्यसमितिलाई धन्यवाद दिए। नेपाली मेलालाई सफल बनाउन तथा राहत अभियानमा योगदान पु¥याउने सबैप्रति उनले विशेष आभार व्यक्त गरे । आगामी दिनमा मानवीय तथा सामाजिक सेवाका कार्यलाई संस्थाले निरन्तरता दिने प्रतिवद्धता अध्यक्ष गुरुङले जनाए।
सो अवसरमा मिडिया सचिव एसके गुरुङले यसपटक नेपाली मेलामा स्काई न्युजलगायतका विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूको सहभागिता रहेको जानकारी दिए । गुरुङले यसपटक दुःखको घडीमा आयोजित नेपाली मेलामा सांसद इन्दिरा राना मगर र सांसद तथा पर्वतारोही मिङ्मा डेभिड शेर्पाका साथै राजु लामा, योगेश्वर अमात्य, प्रेमराजा महत, शर्मिला गुरुङलगायतसमेत सहभागी भएर ऐक्यबद्धता जनाएको जनाए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


