मंगलबार, १ सेप्टेम्बर, २०२६
21:16 | ०२:०१

हाम्रो गुठी यूकेद्वारा बाढीपीडितलाई ४ लाख रुपैयाँ सहयोग

नेपाली लिङ्क सेप्टेम्बर १, २०२६


लन्डन । बेलायतस्थित हाम्रो गुठी यूकेले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

संस्थाका संयोजक सुमन कुमार कुँवरको पहलमा संकलित रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखास्थित राहत कोषको आधिकारिक खातामा जम्मा गरिएको हो।

गुठीका सदस्यहरूबाट स्वस्फूर्त रूपमा संकलित रकममा संस्थागत कोषबाट समेत थप गरी कुल ४ लाख रुपैयाँ सहयोग गरिएको कुँवरले जानकारी दिए।

गत २६ अगस्टमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा खोज, उद्धार र राहत वितरणमा कठिनाइ भइरहेको छ ।

हाम्रो गुठी यूकेले प्रभावितहरूको तत्काल उद्धार, घाइतेहरूको उपचार र बेपत्ता व्यक्तिहरूको खोजीलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ।

संस्थाले विपद्को कठिन घडीमा मातृभूमि र पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

साथै, देश–विदेशमा रहेका नेपालीलाई बाढीपीडितका लागि सक्दो सहयोग गर्न आह्वान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू