मंगलबार, १ सेप्टेम्बर, २०२६
19:33 | ००:१८

१७ औं नेपाली मेला: तमु समाज यूकेको मौलिक झाँकीमा झल्कियो तमु पहिचान

नेपाली लिङ्क सेप्टेम्बर १, २०२६

लन्डन । तमुधिं यूकेको आयोजना तथा नेपाली राजदूतावास, लन्डनको सहकार्यमा ३० अगष्ट २०२६ मा केम्प्टन पार्क रेस कोर्षमा सम्पन्न १७औँ नेपाली मेलामा तमु समाज यूकेले उत्साहपूर्वक सहभागिता जनाएको छ ।

मौलिक गुरुङ भेषभूषा, गीत, सङ्गीत र नृत्यसहित प्रस्तुत भएको समाजको टोलीले मेलामा तमु समुदायको सांस्कृतिक पहिचान झल्कायो ।

मेलामा समाजका अध्यक्ष, पूर्वअध्यक्षहरू, आमा समूहका अध्यक्ष तथा पूर्वअध्यक्षहरू, कार्यसमिति पदाधिकारीहरू, सल्लाहकारहरू, सदस्यहरू तथा युवा र बालबालिकासहित करिब १५० जनाको सहभागिता थियो ।

विभिन्न पुस्ताको उपस्थितिले समाजको आपसी एकता र मौलिक संस्कृतिप्रतिको लगाव दर्शाएको थियो।
“नेपाली मेलामा सहभागी बनौँ, नेपाली कला–संस्कृतिको जगेर्ना गरौँ” भन्ने नारासहित सहभागी समाजका सदस्यहरूले मादल र झ्यालीको तालमा “जाऔँ जाऔँ लाग्यो नेपाली मेला, सबै जना भेट हुने यही बेला” बोलको गीत गाउँदै झाँकी प्रस्तुत गरेका थिए।

समाजले यस वर्ष प्रतिष्पर्धामा भाग नलिएपनि मौलिक सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकहरूको ध्यान आकर्षित गरेको थियो ।

झाँकी प्रस्तुतिका क्रममा तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले समाजको परिचय तथा गतिविधिबारे संक्षिप्त मन्तव्य राखेकी थिइन् । उनले नेपाली मेला विविधताभित्रको एकता प्रदर्शन तथा भावी पुस्तालाई भाषा, कला र संस्कृति हस्तान्तरण गर्ने साझा मञ्च भएको बताइन् ।

सन् २००७ मा स्थापित समाज सबैको योगदानबाट ६५० भन्दा बढी आजीवन सदस्य रहेको सामाजिक तथा परोपकारी संस्थाका रूपमा विकसित भएको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई आफ्नो जरा, मातृभूमि र पहिचानसँग जोड्नुपर्नेमा जोड दिइन् ।

अध्यक्ष घलेले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।

बाढीपीडितहरूको राहत तथा पुनस्र्थापनाका लागि समाजले केही दिनभित्रै नेपाल सरकारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी दिँदै अध्यक्ष घलेले विपत्तिको घडीमा मातृभूमि र प्रभावित समुदायका साथ उभिने प्रतिबद्धता व्यक्त गरिन् । साथै, आयोजकप्रति धन्यवाद व्यक्त गर्दै नेपाली एकता र संस्कृति संरक्षणमा हातेमालो गर्न सबैलाई आह्वान गरिन् ।

समाजका उपाध्यक्ष तथा झाँकी संयोजक केदारबहादुर गुरुङ र सल्लाहकार धरमबल गुरुङको संयोजनमा झाँकी प्रस्तुत गरिएको थियो । नृत्य प्रस्तुतिमा आमा समूहकी अध्यक्ष विमला गुरुङ, पूर्वअध्यक्ष माया गुरुङ, सल्लाहकार टिका गुरुङ, सदस्य रितु गुरुङ तथा युवा सदस्यहरू प्रज्जु गुरुङ र सृष्टि गुरुङ सहभागी थिए ।

त्यसैगरी, सल्लाहकार बिजु गुरुङ, सदस्य कल्पना गुरुङ, आमा समूहकी सचिव रमिला गुरुङलगायत दिदीबहिनीहरूले सामूहिक गायनमा साथ दिएका थिए।

समाजका पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ र सल्लाहकार धरमबल गुरुङको नेतृत्वमा रहेको मादल टोलीले एकै तालमा मादल बजाउँदै प्रस्तुतिमा थप रौनक भरेको थियो।

झाँकीमा सहभागी दिदीबहिनीहरूका लागि अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले समाजको लोगो छापिएका मलमलका पछ्यौरा प्रायोजन गरेकी थिइन् । त्यस्तै, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले पुरुष सहभागीहरूका लागि गुरुङ पोसाकको महत्त्वपूर्ण अङ्ग भाङ्ग्रामा समाजको लोगो छपाएर उपलब्ध गराएका थिए ।

मेलामा सहभागी हुन समाजका सदस्यहरू बिहान १० बजेतिर समाजघरबाट दुईवटा मिनिबसमा प्रस्थान गरेका थिए । अन्य सदस्यहरू निजी सवारीसाधनमा पुगेका थिए भने बिहान करिब ११ बजेसम्म समाजको टोली केम्प्टन पार्कमा भेला भएको थियो। समाजले आफ्ना सहभागी सदस्यहरूका लागि प्रवेश टिकटको समेत व्यवस्था गरेको थियो। टिकट वितरणको जिम्मेवारी उपाध्यक्ष भीमबहादुर गुरुङ र सुरक्षा सचिव बुद्धिबहादुर गुरुङले सम्हालेका थिए ।

आमा समूहका दिदीबहिनीहरूले विभिन्न परिकारका खाना तथा पेयपदार्थ प्रायोजन गरी सहभागीहरूका लागि भोजन व्यवस्था गरेका थिए । झाँकी प्रस्तुति सकिएपछि समाजका सदस्यहरूले सामूहिक रूपमा भोजन गरे । त्यसपछि विभिन्न संघ–संस्थाका सांस्कृतिक कार्यक्रम हेर्नुका साथै मेलाका स्टलहरूको अवलोकन, किनमेल र आपसी भेटघाट गरेका थिए।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न मेलाको औपचारिक कार्यक्रममा नेपाली राजदूतावास, लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । नेपालबाट आएकी पूर्वउपसभामुख तथा प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरले पनि मन्तव्य व्यक्त गरिन् ।

मेला संयोजक तथा तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङले स्वागत र अध्यक्ष जुमकाजी गुरुङले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । औपचारिक कार्यक्रम सञ्चालन महासचिव डा. विशाल गुरुङ र सचिव विमल गुरुङले गरेका थिए ।

दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम उद्घोषण सूर्य गुरुङ, दुर्गा गुरुङ, हेलिशा गुरुङलगायतले गरेका थिए ।

यस वर्ष झाँकी तथा नृत्यमा उत्कृष्ट प्रस्तुति दिँदै पासा पुचः गुथि यूकेले एम्बासडर कप जितेको छ ।

सांस्कृतिक पहिचानको संरक्षणसँगै यस वर्षको मेला मातृभूमिमा विपत्तिमा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यसँग पनि जोडिएको थियो। नेपालमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै आयोजक तमुधिं यूकेले मेलाबाट प्राप्त हुने सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

सांस्कृतिक विविधता, सामुदायिक एकता र मानवीय सहयोगको सन्देशसहित सम्पन्न मेलामा तमु समाज यूकेको सहभागिताले मौलिक संस्कृति संरक्षण, पुस्तान्तरण र सामुदायिक सहकार्यप्रतिको प्रतिबद्धता उजागर गरेको थियो ।

शिव कुमार गुरुङ, पूर्व अध्यक्ष तमु समाज यूके

   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू