बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा लण्डनमा प्रार्थना सभा


लण्डन – उत्तरी नेपालमा हालै आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा सोमबार साँझ ह्यारोस्थित इन्टरनेसनल सिद्धाश्रम शक्ति सेन्टरमा विशेष प्रार्थना सभा आयोजना गरिएको छ।
बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना र ऐक्यबद्धता प्रकट गर्न आयोजित प्रार्थना सभामा स्थानीय नेपाली तथा दक्षिण एसियाली समुदायका सदस्यहरू, जनप्रतिनिधि तथा अगुवाहरूको सहभागिता थियो।
ह्यारोका मेयर काउन्सिलर योगेश तेलीले बाढीका कारण नेपाल तथा तिब्बतमा भएको ठूलो मानवीय क्षति र सम्पत्तिको विनाशप्रति गहिरो दुःख व्यक्त गरे ।
उनले बाढी प्रभावित समुदायलाई सहयोग गर्न ह्यारो काउन्सिल र स्थानीय समुदायले सम्भव भएसम्म सबै प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ह्यारोकी डेपुटी मेयर मीना परमार, काउन्सिलर अजय अग्रवाल तथा पूर्व मेयर अजय मारुले पनि नेपालमा बाढीबाट प्रभावित जनताप्रति ऐक्यबद्धता जनाउँदै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे ।
प्रार्थना सभामा इन्टरनेसनल सिद्धाश्रम शक्ति सेन्टरका संस्थापक गुरुजी राजराजेश्वरले भजन प्रस्तुत गर्नुका साथै दुखको यो घडीमा नेपालका बढी पीडितहरुलाई सक्दो सहयोग गर्न सबैलाई अपिल गरे ।
कार्यक्रममा सहभागीहरू सामूहिक रूपमा हनुमान चालिसा तथा अन्य मन्त्रहरू पाठ गर्नुका साथै भजन–कीर्तनमा सहभागी भएका थिए ।

मातृभूमि सेवक संघ, नेपालका हिमाल श्रेष्ठ र मुना श्रेष्ठले पनि कार्यक्रममा भजन प्रस्तुत गरेका थिए ।
बीबीसीका पूर्व पत्रकार भगीरथ योगीले बाढी प्रभावित नेपालका विभिन्न क्षेत्रको पछिल्लो अवस्थाबारे उपस्थित समुदायलाई जानकारी गराए ।
उनले यस दुःखद् घडीमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै प्रार्थना सभा आयोजना गरेकोमा सिद्धाश्रम परिवार तथा सहभागी स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा लगायत सबैलाई धन्यवाद ज्ञापन गरे ।
प्रार्थना सभामा आर के त्रिपाठी, श्रीमती त्रिपाठी, माला गिरी लगायत स्थानीय नेपाली तथा भारतीय समुदायका अगुवाहरुको उपस्थिति थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


