मंगलबार, १ सेप्टेम्बर, २०२६
14:23 | १९:०८

बेलायतमा सम्पन्न भयो तेस्रो साझा भजन महोत्सव, जुटाइयो बाढीपीडितलाई सहायता

नेपाली लिङ्क सेप्टेम्बर १, २०२६

लन्डन । साझा नेपाली समाज यूकेको आयोजनामा बेलायतको मिडल्यान्डमा वर्षेनी हुंदै आएको साझा भजन महोत्सवको तेस्रो संस्करण सोमबार सफलतापूर्वक सम्पन्न भएको छ।

नटिङहमस्थित गेडलिङ एन्ड शेरवुड क्रिकेट मैदानमा एक हजारभन्दा बढीको सहभागितामा सम्पन्न महोत्सवमा भजनसंगै बेलायतव्यापी भलिबल र मिडल्यान्डस्तरीय क्रिकेट समेत सञ्चालन गरिएको थियो ।

महोत्सवबाट संकलन हुने रकमबाट खर्च कटाएर बाँकी सबै रकम नेपालका बाढीपीडितका लागि पठाइने समाजले जनाएको छ ।

समाजका अध्यक्ष नारायण फुयांलको अध्यक्षतामा सम्पन्न महोत्सवमा प्रमुख अतिथिका रुपमा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी सहभागी भएका थिए।

आफ्नो सम्बोधनमा उनले बेलायतमा हरेक वर्ष हुंदै आएको भजन महोत्सवले संस्कृति जगेर्नाको लागि महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरे। यसवर्षको महोत्सवलाई नेपालका बाढीपीडितको सहयोगमा केन्द्रित गरिएकोमा कार्यवाहक राजदूत दुवाडीले धन्यवाद पनि दिए ।

समाजका अध्यक्ष नारायण फुयांलले महोत्सव सफल पार्न योगदान गर्ने सबै अतिथि, सहभागी, बेलायतका विभिन्न क्षेत्रबाट आएका भजन टोली, पण्डितहरु, सम्पूर्ण खेलाडी, स्वयमसेवक, कार्यसमिति, ट्रष्टी एवम् सल्लाहकारका साथै मिडल्यान्डका सबै संघसंस्था र समुदायप्रति आभार प्रकट गरे । देशलाई विपद परेका बेला महोत्सवबाट जुटाइएको कोष तत्काल नेपाल पठाइने जानकारी दिंदै उनले सहयोगी सबैलाई धन्यवाद दिए ।

स्वागत मन्तव्य राख्दै संयोजक एवम् निवर्तमान अध्यक्ष दीपक सापकोटाले नेपालमा आएको बाढीपछि सिर्जित विपदको अवस्थामा ठूलो अन्योलबीच पनि अन्ततः कार्यक्रम आयोजना गर्न सफल भएको सुनाए । महिनौं लामो मेहनत र तयारीपछि अन्तिम समयमा महोत्सव स्थगित गर्नुभन्दा निरन्तर राखेर बाढीपीडित सहयोगार्थ समर्पित गरिएको उनले जनाए ।

यसअघि महोत्सवको उद्घाटन सत्रमा गैरआवासीय नेपाली संघका केन्द्रीय प्रवक्ता सोम सापकोटा र पूर्व सचिव दयानिधि सापकोटालगायतले शुभकामना दिएका थिए । बेलायतमा नेपाली कला, संस्कृति र धर्म संरक्षण तथा प्रवद्र्धनका लागि साझा नेपाली समाजले गर्दै आएको प्रभावकारी पहलको उनीहरुले प्रशंसा गरे । साथै, आउँदा वर्षहरुमा यो महोत्सवलाई झनै व्यापक र बिस्तार गर्दै जान उनले सुझाव पनि दिए ।

महोत्सवको उद्घाटन समाजका अध्यक्ष नारायण फुयांल, संयोजक एवम् निवर्तमान अध्यक्ष दीपक सापकोटा , गुरु डा चैतन्य तिलकसहित समाजका ट्रष्टीहरुलगायतले दीप प्रज्वलन गरी गरेका थिए । त्सअवसरमा हालैको बाढीमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौनधारण गरिएको थियो भने सबै बेपत्ता, घाइते एवम् पीडितहरुको रक्षाको कामनासहित प्रार्थना गरिएको थियो ।

महोत्सवको उद्घाटन सत्र गोविन्द सापकोटा र भजनको सत्र राहुलदेव सापकोटाले सञ्चालन गरेका थिए । महोत्सवमा आर्थिक संकलनको अभियान ट्रष्टी महेश अधिकारीले लिड गरेका थिए ।

सोही अवसरमा आयोजित बेलायतव्यापी भलिबल प्रतियोगितामा युवा र भेटेरान गरी दुई विधामा १५ टीम सहभागी भएका थिए । युवातर्फ ग्रीनवीच भलिबल परिवार र भेटेरानतर्फ स्यांग्जा समाज यूके विजेता बने भने ।

फाइनलमा गाउँबेसीलाई हराउँदै उपाधि जितेको ग्रीनवीचले नगद २ हजार २ सय ५० पाउण्ड, ट्रफीसहितको पुरस्कार पयो । उपविजेता गाउँबेसी १ हजार ६ सय पाउण्ड नगदसहितबाट पुरस्कृत भयो । त्यस्तै, भेटेरानतर्फ विजेता स्यांग्जा समाज यूकेले १ हजार २ सय पाउण्ड र उपविजेता ग्रीनवीच भलिबल परिवारले ७ सय पाउण्ड नगदसहितको पुरस्कार पाए ।

त्यसैगरी, महोत्सवमा सञ्चालन गरिएको जेनजी मेमोरियल नेपालकप क्रिकेटको दोस्रो संस्करणमा मिडल्यान्डका विभिन्न क्षेत्रबाट सहभागी पाँच टोलीले मैत्रीपूर्ण प्रतिस्पर्धा गरे।

विजेता टीम तथा खेलाडीहरुलाई प्रमुख अतिथि कार्यवाहक राजदूत विपिन दुवाडी, अध्यक्ष नारायण फुयांल, संयोजक दीपक सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए।

महोत्सवमा सहभागी हुन मिडल्यान्डबाट मात्र नभइ लन्डन र आसपासका अरु ठाउँबाट समेत सयौं मानिसहरु नटिङहममा भेला भएका थिए । कतिपय स्थानबाट कोच नै बुकिङ गरेर आउनेहरु समेत थिए ।

सहभागी सबैलाई आयोजकका तर्फबाट प्रसादको व्यवस्था गरिएको थियो। महोत्सवस्थलमा नेपाली खानासंगै विभिन्न व्यापार र सेवाका स्टलसमेत राखिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू