नेप्लिज लेडिज कम्युनिटी लन्डनको पृथक तीज, विपद् राहत कोषमा सहयोग

लन्डन। नेप्लिज लेडिज कम्युनिटी हन्स्लो (एनएलसीएच), लन्डनले यस वर्षको तीज पर्व फरक र मानवीय उद्देश्यसहित मनाएको छ। हरेक वर्ष मनोरञ्जनात्मक तीज कार्यक्रम आयोजना गर्दै आएको संस्थाले यसपटक नेपालमा आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको सहयोगका लागि कार्यक्रमलाई ‘च्यारिटी तीज’का रूपमा आयोजना गरेको हो।
यसपटकको कार्यक्रममा सहभागीहरूको मुहारमा केवल तीजको उल्लास मात्र नभई मातृभूमिप्रतिको माया, पीडामा परेकाहरूप्रतिको सहानुभूति र सहयोगको भावना झल्किएको थियो। रसुवा र नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि सहयोग पुर्याउने उद्देश्यले पूर्वनिर्धारित तीज कार्यक्रमलाई च्यारिटी स्वरूप दिइएको आयोजकले जनाएको छ।
लन्डनको फेल्थम एसेम्बली हलमा शनिबार आयोजित ‘च्यारिटी तीज फर नेपाल’ कार्यक्रममा नेपालमा विपद्बाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। साथै, विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरियो।
नेप्लिज लेडिज कम्युनिटी हन्स्लो अध्यक्ष प्रभा खापुङले यस्तो दुखद घडीमा सबै मिलेर केहि गर्ने उद्देश्यले हामीले तीज कार्यक्रमलाई स्थगित नगरि फरक ढंगले मनाउने प्रयास गरेको बताइन् । सहयोगको लागि उपस्थित जनाउने र साथ सहयोग दिने सबैलाई धन्यवाद दिइन्।
उपाध्यक्ष सुनिता प्रधानले पनि हामी सबै एकजुट भएर मातृभूमिका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले सहयोगी मन लिएर कार्यक्रममा उपस्थित भएको बताउंदै बाढीपीडितको सहयोगका लागि एकजुट हुन् आग्रह गरिन् ।
संस्थापक अध्यक्ष देवी रानी गुरुङले यस्तो दुखद घडीमा पनि मातृभूमिको लागि केही गर्नुपर्छ भनेर उपस्थित हुने सबैलाई धन्यवाद दिएकी थिइन् । प्राकृतिक विपद्को समयमा उद्धार तथा राहत कार्यक्रम थप प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा सबैले जोड दिएका थिए।
कार्यक्रम संचालन उपाध्यक्ष सुस्मिता कन्दङवा र सचिव धुर्वी गुरुङले गरेका थिए । यसैगरी बिनिता बस्नेतको संयोजनमा ‘राफल ड्र’ आयोजना गरिएको थियो । राफल ड्रबाट संकलित रकम पनि बाढीपीडितलाई नै सहयोग गरिने संस्थाले बताएको छ ।
‘A Celebration of Culture, Compassion & Community’ भन्ने मूल भावसहित आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले तीज पर्वको सांस्कृतिक महत्त्वलाई जोगाउँदै नेपालमा विपद्बाट प्रभावित परिवारहरूप्रति मानवीय सहयोग र सद्भाव व्यक्त गरेका थिए।
आयोजकका अनुसार कार्यक्रमबाट संकलित सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलन गरिनेछ। प्राकृतिक विपत्तिका कारण प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र सहयोगमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रमलाई च्यारिटी स्वरूप दिइएको हो।
आयोजकले कठिन परिस्थितिमा नेपाल र नेपाली जनताको साथमा उभिनु विदेशमा रहेका नेपालीहरूको पनि साझा दायित्व भएको उल्लेख गर्दै सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको छ।
“Celebrate Teej. Give Hope. Rebuild Lives. Pray for Nepal” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले विदेशमा रहेका नेपालीहरूबीच आपसी सहयोग, मानवीय भावना र मातृभूमिप्रतिको जिम्मेवारीलाई थप मजबुत बनाएको आयोजकको भनाइ छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५






