शुक्रबार, २८ अगस्ट, २०२६
23:55 | ०४:४०

बाढी पीडितलाई राहत र पुनःस्थापनाबारे दूतावासले नेपाली समुदायसँग छलफल गर्दै

नेपाली लिङ्क अगस्ट २८, २०२६

लन्डन । नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनामा बेलायतस्थित नेपाली समुदायले पुर्‍याउन सक्ने सहयोगबारे छलफल गर्न लन्डनस्थित नेपाली दूतावासले ‘भर्चुअल’ अन्तरक्रिया कार्यक्रम तय गरेको छ।

दूतावासका अनुसार २९ अगस्ट शनिबार साँझ ७ देखि ८ बजेसम्म हुने अन्तरक्रियामा बेलायतमा क्रियाशील नेपाली संघसंस्था तथा समुदायका प्रतिनिधि र व्यक्तिहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

हालैको आकस्मिक बाढीबाट नेपालका विभिन्न भागमा मानवीय क्षतिसँगै ठूलो संख्यामा मानिस विस्थापित भएका छन् भने घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा समेत व्यापक क्षति पुगेको उल्लेख गर्दै दूतावासले विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले सम्बन्धित निकायसँग समन्वय गरी निरन्तर काम गरिरहेको जनाएको छ।

दूतावासले कठिन परिस्थितिमा बेलायतस्थित नेपाली समुदायले बाढी प्रभावित नेपालीप्रति देखाएको ऐक्यबद्धता, सहयोग र चासोको उच्च प्रशंसा समेत गरेको छ। ‘यस दुःखद घडीमा प्रभावित नेपालीप्रति बेलायतस्थित नेपाली समुदायले देखाएको ऐक्यबद्धता र सहयोगको भावनाप्रति हामी अत्यन्त आभारी छौँ’, दूतावासले भनेको छ।

बाढीपीडितको राहत तथा पुनःस्थापनाका जारी प्रयासमा बेलायतस्थित नेपाली समुदायले सामूहिक रूपमा कसरी प्रभावकारी योगदान पुर्‍याउन सक्छ भन्ने विषयमा विचार आदानप्रदान गर्न उक्त अन्तरक्रिया आयोजना गरिएको दूतावासले जनाएको छ।

कार्यक्रममा सहभागी नेपाली संघसंस्था तथा समुदायका प्रतिनिधिहरूबाट राहत संकलन, प्रभावितसम्म सहयोग पुर्‍याउने प्रक्रिया, पुनःस्थापना तथा दीर्घकालीन सहयोगलगायत विषयमा सुझाव आउने अपेक्षा गरिएको छ। दूतावासले बेलायतस्थित नेपाली संघसंस्था तथा इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै रचनात्मक सुझाव प्रस्तुत गर्न समेत आग्रह गरेको छ।

भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी हुन यस लिंकमा क्लिक गर्नुहोला ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू