बाढी पीडितलाई चितवन एड ट्रस्ट यूकेको ५ लाख सहयोग


लण्डन- चितवन एड ट्रस्ट (क्याट) यूकेले नेपालमा आएको प्राकृतिक विपद् पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा रु. ५ लाख सहयोग प्रदान गरेको छ।
नेपालमा प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षति, परिवारहरूको विस्थापन तथा हजारौँ नेपालीले भोग्नुपरेको पीडाले सबैलाई अत्यन्त दुःखी र मर्माहत बनाएको उल्लेख गर्दै संस्थाले सहयोग प्रदान गरेको हो।
‘यो केवल आर्थिक सहयोग मात्र नभई विपद्मा परेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूप्रतिको हाम्रो ऐक्यबद्धता, जिम्मेवारी र मानवीय संवेदनाको प्रतीक हो’- अध्यक्ष राजु आचार्यले भने।
संस्थाले आगामी दिनमा पनि यस्ता मानवीय संकट तथा प्राकृतिक विपद्का समयमा पारदर्शी, जिम्मेवार र प्रभावकारी ढंगले प्रभावित समुदायको सहयोगमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
‘यस दुःखद् घडीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै, विपद्बाट प्रभावित, घाइते तथा विस्थापित सम्पूर्ण दाजुभाइ–दिदीबहिनीहरूप्रति क्याट) युकेको तर्फबाट हार्दिक ऐक्यबद्धता, सहानुभूति तथा सहयोगको भावना व्यक्त गर्दछु’-आचार्यले एक प्रेस वक्तब्यमा भनेका छन्।

अध्यक्ष राजु आचार्य
नेपालबाट भौगोलिक रूपमा टाढा भए पनि आफुहरुको मन, भावना र जिम्मेवारी सधैँ मातृभूमिसँगै जोडिएको जनाउदै आचार्यले विपद्को यस कठिन समयमा सहानुभूति मात्र व्यक्त गरेर होइन, सक्दो व्यावहारिक सहयोग र मानवीय पहलमार्फत साथ दिनु साझा दायित्व रहेको बताए।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म पाँच सय ५३ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले शुक्रबार साँझ ५ः०० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न आठ जिल्लाबाट पाँच सय ५३ जनाको शव फेला परेका हुन्।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२२, गोरखामा ४७, तनहुँमा ३१, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।
बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ। प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै स्थानीयवासी र विभिन्न निकायको समन्वयमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको जनाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


