शुक्रबार, २८ अगस्ट, २०२६
13:58 | १८:४३

ब्रिज इन्टरनेशनलले गर्‍यो बाढीपीडितका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

नेपाली लिङ्क अगस्ट २८, २०२६

लन्डन । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलगायत देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

विपद्को कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

ब्रिज इन्टरनेशनलका अध्यक्ष महेश गिरी र प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले प्राकृतिक विपद्का बेला पीडित समुदायलाई सहयोग गर्नु संस्थागत मात्र नभई सामाजिक दायित्वसमेत भएको बताएका छन्।

उनीहरूले विपद्को समयमा सबै क्षेत्रबाट हुने सानो–ठूलो सहयोगले प्रभावित परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्कन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

विगत ११ वर्षभन्दा बढी समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय ब्रिज इन्टरनेशनलले विद्यार्थीको शैक्षिक भविष्य निर्माणसँगै समाज र समुदायप्रतिको उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिँदै आएको जनाएको छ।

“नेपाल हाम्रो घर हो र नेपाली हाम्रो परिवार। कठिन समयमा आफ्ना नागरिकसँग उभिनु हाम्रो साझा जिम्मेवारी हो,” संस्थाले जनाएको छ।

ब्रिज इन्टरनेशनलले बाढी तथा पहिरोबाट प्रभावित सबै नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र प्रभावित समुदायको छिटो पुनःस्थापनाको कामना गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू