मंगलबार, २५ अगस्ट, २०२६
18:05 | २२:५०

तमु लम परिवार यूकेको बैठक सम्पन्न, १२ सेप्टेम्बरमा अधिवेशन र नयाँ नेतृत्व चयन

नेपाली लिङ्क अगस्ट २५, २०२६

लन्डन । तमु लम परिवार यूकेको कार्यसमिति बैठक संस्थाका अध्यक्ष रामचन्द्र गुरुङको अध्यक्षतामा २३ अगस्ट २०२६ का दिन अल्डरसटमा सम्पन्न भएको छ। बैठकमा पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा छोरीचेली समितिका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बैठकको प्रारम्भमा उपाध्यक्ष क्याप्टेन सूर्य प्रकाश गुरुङले सबैलाई स्वागत गरेका थिए। कोषाध्यक्ष कमल गुरुङले वार्षिक आय–व्यय विवरण प्रस्तुत गरे भने उपाध्यक्ष तथा सदस्य संयोजक चन्द्र प्रसाद गुरुङले सदस्यता व्यवस्थापनबारे जानकारी गराए।

संस्थाको आगामी साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि अधिवेशन आउँदो १२ सेप्टेम्बर २०२६ का दिन बिहान १० बजे अल्डरसटस्थित एम्पाएरको पहिलो तलामा आयोजना गर्ने निर्णय बैठकले गरेको छ।

अधिवेशनलाई निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न सल्लाहकार एकेन्द्र गुरुङलाई निर्वाचन आयुक्त तोकिएको छ भने सल्लाहकारद्वय गणेश गुरुङ र टिका गुरुङलाई निर्वाचन समितिको सदस्यमा चयन गरिएको छ। संस्थाले बेलायतबासी सम्पूर्ण तमु लम परिवारलाई अधिवेशनमा सहभागी हुन आग्रह गरेको छ।

संस्थाको विधानलाई समयसापेक्ष परिमार्जन गर्न सल्लाहकार सुमल कुमार गुरुङको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ, जसमा टिका गुरुङ र गणेश गुरुङ सदस्य रहनेछन्। सो मस्यौदा आगामी अधिवेशनमा प्रस्तुत गरिनेछ। यसैगरी संस्थागत विकासका लागि दिल रास गुरुङ, हर्क गुरुङ, मेजर हितमान गुरुङ र मेजर कुमार गुरुङलाई नयाँ सल्लाहकारमा चयन गरिएको छ।

तमु लम परिवार यूकेको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम भने १० अक्टोबर २०२६ मा दिउँसो ४ बजे अल्डरसटस्थित एम्पाएरमा आयोजना गरिने भएको छ।

कार्यक्रममा सदस्यता प्रमाणपत्र वितरण, स्नातक तह उत्तीर्ण गर्ने सदस्य तथा उनीहरूका छोराछोरीलाई शैक्षिक सम्मान र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने सदस्यहरूलाई सम्मान गरिनेछ। संस्थागत एकरूपताका लागि तमु लम परिवारको लोगो अंकित टाई प्रयोगमा ल्याउने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा नेपालबाट बेलायत भ्रमणमा आएका बिन्ध्यवासिनी हाइड्रो पावरका सञ्चालक ओम गुरुङलाई खादा ओढाएर विशेष सम्मान गरिएको थियो। साथै उपाध्यक्ष क्याप्टेन सूर्य प्रकाश गुरुङकी आमा स्वर्गीया श्रीमती देवी कुमारी गुरुङको गत ४ जुलाई २०२६ मा ८९ वर्षको उमेरमा भएको निधनप्रति गहिरो शोक व्यक्त गर्दै एक मिनेट मौनधारण गरी शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको थियो।

बैठकको समापनमा अध्यक्ष रामचन्द्र गुरुङले संस्थालाई पारदर्शी, समावेशी र प्रभावकारी बनाउँदै यूकेबासी तमु लम समुदायबीच एकता र भाइचारा अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू