आइतबार, २३ अगस्ट, २०२६
11:59 | १६:४४

ट्रम्पको तेहरानविरुद्ध नयाँ आर्थिक प्रतिबन्धप्रति आक्रोश

रासस-सिन्ह्वा अगस्ट २३, २०२६

तेहरान, भदौ ६ गते । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान विरुद्धको नयाँ आर्थिक प्रतिबन्धको अभियानको आलोचना गर्दै वाशिङ्गटनले अन्य देशलाई अमेरिकी प्रतिबन्धको पालना गर्न बाध्य पार्न खोजिरहेको बताएका छन् ।

तेहरानसँग आर्थिक कारोबार गर्ने देश, कम्पनी र वित्तीय संस्थाका लागि यसको परिणाम खतराजन्य रहेको भन्दै संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध अहिलेसम्मको सबैभन्दा कडा आर्थिक कारबाही सुरु गर्ने योजना बनाएको ट्रम्पले बताएका छन् । उनले यस अभियानलाई उच्च स्तरको आर्थिक युद्ध भनेर वर्णन गरेका छन् ।

बाघाईले सामाजिक सञ्जाल एक्समा यस्ता प्रतिबन्ध अन्य देशमा अमेरिकाको बाह्य सार्वभौमत्वको दाबी बराबर भएकोसमेत बताएका छन् । उनले वासिङ्टनलाई विदेशी बैङ्क, कम्पनी वा अन्य संस्थालाई इरानसँगको व्यापार रोक्न बाध्य पार्ने कुनै अधिकार नभएको उल्लेख गर्दै त्यस्ता गतिविधि संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित सार्वभौम समानताको सिद्धान्त विपरित रहेको बताए ।

यसैगरी इरानी संसदको राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले शुक्रबार वासिङ्टनले कूटनीतिको मर्म विपरित प्रयास गरेको बताएका छन् ।

संयुक्त राज्य अमेरिका र इरानबीच अन्तिम सम्झौताका लागि वार्ता गर्न तोकिएको ६० दिनको समयसीमा सोमबार कुनै सम्झौता बिना समाप्त भएपछि पछिल्लो तनाव आएको हो ।

दुवै पक्षले गत जुन महिनामा शत्रुता अन्त्य गर्ने र वार्ताका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले अन्तरिम ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू