बाढीपहिरो प्रभावित समुदायको सहयोगार्थ लन्डनमा विशेष कला प्रदर्शनी


लन्डन – चर्चित कलाकार गोविन्द साह ‘आजाद’ ले नेपालमा गत अगस्ट अन्तिम साता आएको विनाशकारी हिमाली क्षेत्रको बाढीपहिरोबाट प्रभावित समुदायको सहयोगार्थ लन्डनमा विशेष कला प्रदर्शनी आयोजना गरेका छन् ।
गत शुक्रबार (१६ अक्टोबर) सेन्ट्रल लन्डनस्थित सुन्दरम टागोर ग्यालरीमा आयोजित प्रदर्शनीमा कलाकार साहका चित्रहरू प्रदर्शन गरिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपालमा भोटेकोशी-त्रिशुली बाढी पछि ब्रिटिश सरकारले गरेको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै ब्रिटिश जनता र राजनीतिक नेतृत्वले पनि ठूलो साथ र सहयोग दिएको जनाए। उनले बाढीले धनजनको निकै ठूलो क्षति गरेको जनाउँदै प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि झन्डै पांच अर्ब डलर लाग्ने प्रारम्भिक अनुमान गरिएको जनाए।
दुवाडीले ब्रिटेन लगायत संसारभरि रहेका नेपाली डायस्पोराले प्रधानमन्त्री उद्धार कोष तथा प्रभावित क्षेत्रमै पुगेर ठूलो सहयोग गरेको भन्दै हार्दिक आभार व्यक्त गरे।
कार्यवाहक राजदूत दुवाडीले कलाकार गोविन्द साहले प्रवासमा बसेर पनि कला साधना गरिरहेकोमा खुसी व्यक्त गर्दै बाढी पीडित समुदायको सहयोगका लागि आफ्ना कलाकृति लिलाम गर्न अनुमति दिएकोमा उनी र ग्यालरीलाई धन्यवाद दिए।

जमैकामा जन्मिएका कवि, मानव अधिकार कार्यकर्ता तथा कलाकार डेभ निताले धनी मुलुकहरुले गरेको वातावरण विनाशको मूल्य गरिब तथा विकासशील मुलुकहरुले तिर्नु परेको भन्दै जलवायु परिवर्तनको पीडा भोगी रहेका मुलुकहरुलाई अन्तरराष्ट्रिय समुदायले सहयोग गर्नु पर्ने बताए।
उनले नेपालले भोग्नु परेको पीडामा मल्हम लगाउन संसारभरिका सचेत नागरिकहरु एकै ठाउँमा उभिएको पनि जनाए। उक्त अवसरमा नेपालमा बाढीले गरेको क्षतिबारे छोटो भिडियो पनि प्रदर्शन गरिएको थियो।
कलाकार साहले कला सिर्जना र मानवीय सेवाबीचको सम्बन्धलाई जोड दिँदै आफूले विपत्तिमा परेका नेपालीहरूप्रति ऐक्यबद्धता जनाउन चाहेको बताए । उनले कला केवल सिर्जनात्मक अभिव्यक्तिको माध्यम मात्र नभई मानवीय पीडा र सामाजिक समस्याप्रति प्रतिक्रिया जनाउने तथा मानिसहरूलाई जोड्ने प्रभावकारी माध्यमसमेत भएको बताए ।
उनले कलाकृतिको ‘अक्शन’ बाट उठेको सम्पूर्ण रकम लन्डनस्थित नेपाली दूतावास मार्फत प्रधानमन्त्री राहत कोषमा पठाइने जनाए। उनले कला प्रदर्शनी आयोजना गर्न सघाउने ग्यालरी, अक्शनमा भाग लिने सबै सहभागी तथा पाहुनाहरुलाई हार्दिक धन्यवाद पनि दिए।
सप्तरीको राजविराजमा जन्मिएका गोविन्द साह ‘आजाद’ नेपालका अन्तरराष्ट्रिय रूपमा परिचित समकालीन चित्रकारमध्ये एक हुन् । उनी हाल बेलायतको केन्टस्थित मार्गेटमा बसोबास गर्दै आफ्नो कला स्टुडियो सञ्चालन गर्छन् । उनका चित्रहरू लन्डनस्थित अक्टोबर ग्यालरीमा पनि प्रदर्शन गरिएका छन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



