बिहीबार, २० अगस्ट, २०२६
23:57 | ०४:४२

भारत र जापानबीच सुरक्षा सम्बन्ध सुदृढ बनाउने विषयमा सहमति

रासस/एएफपी अगस्ट २०, २०२६

तस्विर- एएफपी

नयाँ दिल्ली– भारत र जापानबीच समुद्री सहयोगसहित सुरक्षा सम्बन्ध सुदृढ बनाउने विषयमा सहमति भएको छ । नयाँ दिल्लीमा दुवै देशका रक्षा मन्त्रीहरूको बिहीबार बसेको बैठकमा सुरक्षा सम्बन्ध सुदृढ बनाउने सहमति भएको हो ।

भारतका रक्षा मन्त्री राजनाथ सिंह र उनका जापानी समकक्षी सिन्जिरो कोइजुमीबीचको वार्तापछि उनीहरूले समुद्री सुरक्षा सहयोगसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

दुवै देश संयुक्त राज्य अमेरिका र अस्ट्रेलियासँगै तथाकथित क्वाड सुरक्षा गठबन्धनका सदस्य हुन्। यो समूहलाई हिन्द महासागर र फराकिलो एशिया–प्रशान्त क्षेत्रमा चीनको विस्तारित उपस्थितिलाई सन्तुलनमा राख्ने प्रयासका रूपमा हेरिन्छ ।

‘दुवै मन्त्रीहरूले स्वतन्त्र र खुला इन्डो–प्यासिफिक रणनीति साकार पार्न रक्षा सहयोगलाई अझ गहिरो बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो सहयोग जापान र भारतका लागि मात्र होइन, क्षेत्र र अन्तर्राष्ट्रिय समुदायका लागि पनि अत्यन्त महत्त्वपूर्ण छ ।’

नयाँ दिल्लीले टोकियोको पूँजी र प्रविधिलाई व्यापक रूपमा आकर्षण गर्न चाहेको छ, जसले भारतलाई घरेलु सैन्य हार्डवेयर उद्योग निर्माण गर्ने प्रयासमा सहयोग पुर्‍याउने विश्वास भारतको छ।

विज्ञप्तिमा भनिएको छ, ‘दुवै देशले नौसेना जहाज निर्माण र डिजाइनमा संयुक्त विकासको अन्वेषण गर्नुपर्छ । यसमा टोकियोको प्राविधिक विशेषज्ञता र नयाँ दिल्लीको ‘मेक इन इन्डिया’ पहलअन्तर्गतको उत्पादन क्षमतालाई संयोजन गर्नुपर्छ ।’

कोइजुमीको यो भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाईमा जापानी समकक्षी सानाए ताकाइचीलाई आयोजना गरेपछि आएको हो । त्यस बेला उनीहरूले चीनको प्रभुत्व रहेको महत्वपूर्ण खनिज क्षेत्रमा अझ नजिकबाट सहकार्य गर्ने सहमति जनाएका थिए ।

त्यस बैठकपछि ताकाइचीले जापान र भारत ‘अर्थतन्त्रको हतियारीकरण तथा गैर–बजार नीति र अभ्यास’ जस्ता चुनौतीहरूको सामना गरिरहेका चेतावनी दिएका थिए ।

चीनको विदेश मन्त्रालयले मोदी र ताकाइचीको बैठकपछि टिप्पणी गर्दै भनेको थियो, ‘अन्तर्राष्ट्रिय सहयोगले ‘तेस्रो पक्षको हितलाई निशाना बनाउनु वा हानि पुर्‍याउनु हुँदैन । यसलाई विशेष समूह बनाउने वा द्वन्द्व बढाउने बहानाका रूपमा प्रयोग गर्नु हुँदैन ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू