सोमबार, १७ अगस्ट, २०२६
22:02 | ०२:४७

प्रतिभा नक्षत्र यूकेको सातौं संस्करणमा बालबालिका र युवाले प्रस्तुत गरे नेपाली कला–संस्कृति

नेपाली लिङ्क अगस्ट १७, २०२६

लन्डन– मातृभूमि नेपालभन्दा हजारौं माइल टाढा बेलायतमा जन्मिएर हुर्किएका नेपाली बालबालिका तथा युवाले नेपाली कला, संस्कृति, भाषा र परम्परासँग आफ्नो सम्बन्ध जीवन्त रहेको सन्देश दिएका छन्।

आइतबार लन्डनमा आयोजित प्रतिभा नक्षत्रको सातौं संस्करणमा सहभागी बालबालिकाले भगवान् गौतम बुद्धदेखि सर्वोच्च शिखर सगरमाथासम्मका विषयलाई आफ्नो प्रस्तुतीकरणको हिस्सा बनाए। कतिपयले नेपाली मौलिक नृत्य प्रस्तुत गरे भने कतिपयले वक्तृत्वकलाका लागि नेपाललाई विषय बनाए। नेपाली राष्ट्रिय पहिरन र गरगहनामा सजिएका उनीहरूले नेपाली बाजा, गीत, संगीत र नृत्यमार्फत आफ्नो मौलिक पहिचान प्रस्तुत गरे।

प्रतियोगितामा बालबालिका तथा किशोरकिशोरी गरी २५ जनाले विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। युवा विधातर्फ ट्रिस्टा एमडी विजेता बनिन्। विधि बुढाथोकी फस्ट रनरअप र अल्बर्ट गुरुङ सेकेन्ड रनरअप भए।

त्यस्तै, बालबालिका विधातर्फ शेष श्रेष्ठ विजेता बने भने सारा गुरागाईं फस्ट रनरअप र अभिनव साउद सेकेन्ड रनरअप भए। प्रतियोगिताको निर्णायक मण्डलमा डा. रवीन्द्र पाण्डे, प्रजय वैद्य, शिवदास गुरुङ, श्याम श्रेष्ठ र रस्मिता दर्लामी मगर थिए।

कुमारी जात्रासहित कार्यक्रम सुरुवात

प्रतियोगिता सुरु हुनुअघि नेपाली मौलिक धिमे तथा नौमती बाजाको धुनसँगै कुमारीको हातबाट दीप प्रज्वलन गरी औपचारिक कार्यक्रमको शुभारम्भ गरिएको थियो। त्यसपछि नेपाली र बेलायती राष्ट्रिय गान बजाइएको थियो।

बेलायतमै जन्मिएका बालबालिकाले नेपाली मौलिक बाजा बजाएर कार्यक्रमको सुरुवातलाई थप विशेष बनाएका थिए।

पासा पुचः गुथि यूकेको सक्रियतामा प्रतिभा नक्षत्र गाउँमा बिहान ९ बजेदेखि ९ः४५ बजेसम्म जीवित देवी कुमारीको पूजाआजा गरिएको थियो। त्यसपछि नौमती र धिमे बाजासहित कुमारी जात्रा निकालिएको थियो।

कुमारी जात्रामा प्रमुख अतिथि वरिष्ठ पत्रकार टीकाराम यात्रीसहित अतिथि तथा सहभागीहरू सहभागी हुँदै कार्यक्रमस्थलको स्टेजतर्फ अघि बढेका थिए। त्यसपछि कुमारीको हातबाट दीप प्रज्वलन गरी औपचारिक कार्यक्रम उद्घाटन गरिएको थियो।

कार्यक्रममा प्रतिभा नक्षत्रका संस्थापक निर्देशकहरूमध्येका एक लछुमन गुरुङले स्वागत मन्तव्य दिएका थिए। पासा पुचः गुथि यूकेका अध्यक्ष सुशील प्रजापतिले कुमारी तथा यसको सांस्कृतिक महत्वबारे मन्तव्य दिएका थिए।

कार्यक्रमकै क्रममा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

औपचारिक कार्यक्रमको अन्त्यतिर बिम्फा समूहले उद्घाटन नृत्य प्रस्तुत गरेको थियो। पहिलो चरणको औपचारिक कार्यक्रम प्रतिभा नक्षत्रकी महासचिव आस्था जोशी र सत्यप्रसाद प्रजापतिले सञ्चालन गरेका थिए।

नेपालीपनलाई नयाँ पुस्तासँग जोड्ने अभियान

कार्यक्रमको दोस्रो चरणमा प्रतिभा नक्षत्रको इतिहास र यसको परिकल्पनाबारे जानकारी दिइएको थियो। प्रतिभा नक्षत्रका परिकल्पनाकार संस्कृतिविद् राजेन्द्र खस हुन्।

डायस्पोरामा रहेका नेपाली बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च प्रदान गर्दै उनीहरूलाई नेपालसँग जोड्ने उद्देश्यले खसको परिकल्पनामा सन् २०१७ मा प्रतिभा नक्षत्र सुरु गरिएको हो।

यस अभियानले डायस्पोरामा नेपाली कला, संस्कृति, भाषा, साहित्य, परम्परा तथा समग्र नेपालीपनको प्रवर्धन गर्दै नयाँ पुस्तामा नेपाली पहिचान हस्तान्तरण गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा सहभागी बालबालिका तथा युवाले विभिन्न नेपाली बाजासहित रयाम्प वाकसमेत गरेका थिए। प्रश्नोत्तर कार्यक्रमका साथै विभिन्न नृत्य तथा गायन प्रस्तुतिहरू पनि आयोजना गरिएको थियो। निर्णायक मण्डलका सदस्य शिवदास गुरुङले समेत नृत्य प्रस्तुत गरेका थिए।

नमुना नेपाली बस्तीले झल्कायो विविधता

साउथ–इस्ट लन्डनको प्लमस्टेड कमनस्थित ग्रीनविच रग्बी क्लबको मैदानमा आयोजित यस वर्षको प्रतिभा नक्षत्र विगतका संस्करणभन्दा फरक र विशेष देखिन्थ्यो ।कार्यक्रमस्थलमा ‘प्रतिभा नक्षत्र गाउँ’ निर्माण गरी नमुना नेवारी घर, थारू घर, खस घरलगायत विभिन्न समुदायका मौलिक घरहरू प्रदर्शनमा राखिएका थिए।

त्यहाँ नेपाली कला, संस्कृति, भाषा, भेषभूषा र परम्परा झल्काउने नमुना घर तथा विभिन्न स्टलहरू राखिएका थिए। साथै नौमती बाजा, धिमे बाजा, गीत–संगीतसहित विविध सांस्कृतिक प्रस्तुति, नेपाली हस्तकला, गरगहना, खानाका परिकार तथा च्यारिटीका स्टलहरू पनि आकर्षणका केन्द्र बनेका थिए।

कार्यक्रममा प्रवेश निःशुल्क गरिएको थियो। नेपाली समुदायसँगै बेलायती तथा अन्य समुदायका विदेशीहरूको समेत उल्लेख्य सहभागिता थियो।

प्रतियोगिताकी कोरियोग्राफर रेनुका मगरका अनुसार यसपटक बेलायतबाहेक आयरल्यान्ड, जर्मनी, बेल्जियम र नेदरल्यान्ड्सबाट समेत सहभागीहरू आएका थिए।

प्रतिभा नक्षत्रकी कार्यवाहक अध्यक्ष विजया दाहालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।

   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू