मंगलबार, १८ अगस्ट, २०२६
18:21 | २३:०६

लखन थापा मगर मेमोरियल गल्फमा वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटी च्याम्पियन

नेपाली लिङ्क अगस्ट १७, २०२६

लन्डन–मगर संघ यूकेको आयोजनामा बेलायतमा आयोजित प्रथम शहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ मा वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटी विजयी बनेको छ भने इन्टेक ९६ उपविजेता बनेको छ।

गत शनिबार (१५ अगष्ट) मेडेनहेडस्थित बर्ड हिल्स गल्फ सेन्टरमा आयोजित प्रतियोगितामा १३८ व्यक्तिगत खेलाडी र २२ टिमले भाग लिएका थिए ।

प्रतियोगिता पछि शनिबार साँझ अल्डरशटस्थित ठमेल रेस्टुरेन्ट एन्ड बारमा पुरस्कार वितरण तथा रात्रिभोज आयोजना गरिएको थियो।

मगर संघ यूकेका अध्यक्ष लाल बहादुर पुन (लालु) ले अध्यक्षता गरेको पुरष्कार वितरण समारोहमा कार्यक्रम संयोजक क्याप्टेन ताम बहादुर ढेंगाले सबैलाई स्वागत गरे। देव राना मगरले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरु निता थापा मगर, सरिश्मा राम्जाली मगर, बिमला घर्ती मगर, कामना ओली लगायत कलाकारले रोचक प्रस्तुति गरेका थिए ।


विजेताहरु:

व्यक्तिगततर्फ

ग्रस विजेता: गजेन्द्र गुरुङ
ग्रस उपविजेता: संजीव राई

नेटतर्फ:

विजेता: सोम थुलुङ्ग
उप विजेता: क्याप्टेन ताम बहादुर ढेंगा

डिभिजन ए:

विजेता : आशिष गुरुङ
उपविजेता: सरोज राई

डिभिजन बी:

विजेता: गिरिराज लिम्बु
उपविजेता: पदम श्रीश

डिभिजन सी :

विजेता : मिस मिनर्वा रोका मगर
उपविजेता: मदन लिम्बु

५५ वर्ष भन्दा माथिको समूह
विजेता: नारायण गुरुङ
उपविजेता: चीन थापा एमभीओ

नोभल्टी पुरष्कार विजेता:

एनटीपी : प्रकाश गुरुङ
एनटीपी थर्ड: रमेश राई
एलडी सिनियार्स: प्रदीप राई
एलडी ओपन: वरेन लिम्बु

टिम विधाको विजेताले प्रतिष्ठित लखन थापा मगर शिल्डसहित ५०० पाउन्ड नगद पुरस्कार प्राप्त गरे ।

उक्त शिल्ड तथा नगद पुरस्कार प्रतियोगिताको मुख्य आयोजक मगर संघ यूकेले प्रायोजन गरेको हो। दोस्रो स्थान हासिल गर्ने टिमलाई ट्रफीसहित २५० पाउन्ड नगद पुरस्कार प्रदान गरिएको थियो ।


ग्रस र नेट विजेतालाई जनही २५० पाउन्ड

व्यक्तिगत प्रतिस्पर्धाअन्तर्गत ग्रस विधाका विजेताले शिल्डसहित २५० पाउन्ड नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका ओआईसी क्याप्टेन ताम बहादुर ढेंगाले ग्रस विजेताको शिल्ड तथा नगद पुरस्कार प्रायोजन गरेका हुन्।

नेट विधाका विजेतालाई पनि विशेष ट्रफीसहित २५० पाउन्ड नगद पुरस्कार प्रदान गरिएको थियो। नेट विजेताको ट्रफी तथा पुरस्कार ए स्टार फाइनान्सियल सलुशन्स युकेले प्रायोजन गरेको हो।

ए स्टार फाइनान्सियल सलुशन्स युकेले उक्त प्रतिष्ठित प्रतियोगितामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सफल आयोजनाका लागि मगर संघ यूकेलाई बधाई दिएको छ।

प्रतियोगितामा ‘लङ्गेस्ट ड्राइभ’ र ‘नियरेस्ट टु द पिन’ विधाका पुरस्कारसमेत राखिएका थिए । सिनियर तथा जुनियर विधामा पनि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको थियो ।

मगर संघ यूकेका अध्यक्ष लाल बहादुर पुन (लालु) ले बेलायतभर रहेका नेपाली गल्फ खेलाडीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई व्यापक र प्रतिस्पर्धात्मक बनाएको जनाए। उनले सबै खेलाडी, प्रायोजक, संस्थाका पदाधिकारी तथा सदस्यहरुप्रति हार्दिक आभार पनि व्यक्त गरे।

भव्य र सभ्य रुपमा सम्पन्न यो प्रतियोगिताले बेलायतको नेपाली समुदायमा खेलकुद, एकता, मित्रता र आपसी सद्भाव थप सुदृढ बनाएको आयोजक मगर संघ यूकेले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू