शनिबार, १५ अगस्ट, २०२६
11:15 | १६:००

बेलायतमा डढेलो फैलिएपछि नियन्त्रणका लागि गोर्खा सैनिक परिचालन

नेपाली लिङ्क अगस्ट १५, २०२६

लन्डन । बेलायतमा अत्यधिक गर्मीसंगै परेको खडेरीबीच विभिन्न क्षेत्रमा डढेलो फैलिएपछि नियन्त्रणका लागि सैनिक परिचालन भएका छन् ।

देशभरि डढेलो नियन्त्रण गर्ने आपतकालीन टोलीलाई मद्दत गर्न करिब २०० सैनिक तैनाथ गरिएको सरकारले जनाएको छ ।

साउथ वेल्समा उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउन ‘क्वीन्स वन गोर्खा लजिस्टिक रेजिमेन्ट’ का करिब १०० जना सैनिकलाई ‘२२ इन्जिनियर रेजिमेन्ट’ को सहयोगमा परिचालन गरिएको हो ।

साथै, २० हजार लिटर पानी भण्डारण र ओसारपसार गर्न सक्ने क्षमता भएका चारवटा पानी बोक्ने ट्यांकरहरू पनि परिचालन गरिएको छ ।

प्रधानमन्त्री एण्डी बर्नह्यामले आवश्यक परे अन्यत्र थप सैनिक तैनाथ गरिने वाचा समेत गरेको बीबीसीले जनाएको छ ।

बेलायत यतिखेर अत्यधिक गर्मीको लहर (हिटवेभ), खडेरी र डढेलोबाट आक्रान्त बनेको छ ।

सरकारले शुक्रबार इङ्गल्याण्ड र वेल्सका लाखौं बासिन्दालाई फोनमा आपतकालीन चेतावनी सन्देश पठाएर डिस्पोजेबल बारबेक्यू, फायरपिट, आतिसबाजी, बगैंचामा घांस जलाउने उपकरण जस्ता आगो निम्त्याउन सक्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।

जनतालाई खुला आगो नबाल्न र चुरोट सावधानीपूर्वक फाल्न आग्रह गरिएको छ।

गर्मीयाममा देशभर भएका गम्भीर डढेलोका लागि बार्बेक्यूहरू मुख्य जिम्मेवार रहेका सरकारको बुझाइ छ।

निरन्तर गर्मीसंगै संयुक्त अधिराज्यका विभिन्न क्षेत्रमा डढेलो फैलिएपछि सरकारले डिस्पोजेबल (एकपटक प्रयोग गरेर फालिने) बार्बेक्यूहरूको बिक्रीमा अस्थायी रोक लगाएको छ ।

यस हप्ताको सुरुमा सरकारको आपतकालीन कोब्रा बैठकमा सम्भावित प्रतिबन्धबारे पहिलोपटक छलफल गरिएको थियो ।


सरकारले इङ्गल्याण्डका किसानहरूलाई खडेरीको सामना गर्न सघाउन ६ करोड ५० लाख पाउण्ड थप सहयोग गर्ने घोषणा गरेको छ ।

इङ्गल्याण्डमा हालै रेकर्ड गरिएको सबैभन्दा सुख्खा जुलाई महिनाको असरसँग जुध्न किसानहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले सरकारले उक्त आर्थिक सहयोग घोषणा गरेको हो ।

उक्त ६ करोड ५० लाख पाउण्डमध्ये ५ करोड पाउण्ड ‘दिगो कृषि प्रोत्साहन २०२६’ कार्यक्रमका लागि र १ करोड ५० लाख पाउण्डसम्मको रकम खेतबारीमा पानी सञ्चय गर्ने पोखरी (रिजर्भवायर) निर्माणका लागि छुट्याइनेछ।

साथै, सरकारले अनावश्यक अवरोध हटाउने र योजनासम्बन्धी निर्देशिका अद्यावधिक गर्ने लगायतका कदमहरू चालेर पानी सञ्चय गर्ने पोखरी निर्माण कार्यलाई सहज बनाउने भएको छ ।

नेशनल फायर चीफ्स काउन्सिलको तथ्याङ्क अनुसार यस वर्ष इङ्गल्याण्ड र वेल्समा कुल एकहजार १७ डढेलो रेकर्ड गरिएको छ, जुन गत वर्षको तथ्यांकसँग मेल खान्छ ।

इङ्गल्याण्ड र वेल्सका अग्नी नियन्त्रणहरूले शुक्रबार कयौं ठाउंमा आगलागी नियन्त्रण गर्न सास्ती खेपे ।

आगलागीका कारण वेस्ट मिडल्याण्ड्समा दर्जनौं घर ध्वस्त भएका छन् ।

वेल्सस्थित कार्मार्थेनसायरको ल्यान्डोभरी नजिकै विनाशकारी आगलागीपछि दर्जनौं घर खाली गरि सडकहरू बन्द गरेर अग्नि नियन्त्रक काममा खटिएका छन् ।

ह्याम्पसायरमा अग्नि नियन्त्रकहरूले आइतबार सुरु भएको वनमा लागेको डढेलो नियन्त्रण गर्न छैटौं दिन बिताए ।

उता, नोर्फोक फायर एण्ड रेस्क्यू सर्भिसले बिहीबार दिउँसो माउसहोल्ड हीथमा लागेको आगोसहित १६ आपतकालीन अवस्थासंग जुध्न संघर्ष गर्नुपरेको थियो ।

राजकुमार विलियमद्वारा धन्यवाद

बेलायती राजकुमार विलियमले बेलायतभर फैलिएको डढेलो नियन्त्रणमा खटिएका आपतकालीन सेवाकर्मीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
विलियमले एक विज्ञप्तिमा भनेका छन्, “बेलायतभरि डढेलोविरुद्ध लडिरहनुभएका अग्नि नियन्त्रकहरू, आपतकालीन सेवाकर्मीहरू र स्वयंसेवकहरूलाई धन्यवाद छ ।

उनले डढेलोबाट प्रभावित सबै, विशेष गरी आफ्नो घर गुमाएका तथा समुदाय, घर र ग्रामीण क्षेत्रको सुरक्षाका लागि अथक प्रयास गरिरहेकाहरूप्रति सहानुभूति पनि प्रकट गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू