शुक्रबार, १४ अगस्ट, २०२६
15:00 | १९:४५

अन्तर्राष्ट्रिय विद्यार्थी घट्दा बेलायतका विश्वविद्यालय आर्थिक संकटमा

नेपाली लिङ्क अगस्ट १४, २०२६

लन्डन। बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या उल्लेख्य रूपमा घट्न थालेपछि यहाँका विश्वविद्यालयहरू गम्भीर आर्थिक संकटतर्फ धकेलिन थालेको चेतावनी उच्च शिक्षा क्षेत्रका नेताहरूले दिएका छन्। पछिल्लो तथ्यांकअनुसार जुलाईसम्म अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले घटेको छ र यही प्रवृत्ति कायम रहे केही विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना ३० प्रतिशतसम्म घट्न सक्ने आशंका गरिएको छ।

अन्तर्राष्ट्रिय विद्यार्थीबाट आउने शुल्क बेलायतका धेरै विश्वविद्यालयका लागि मुख्य आम्दानीको स्रोत हो। त्यसैले विदेशी विद्यार्थीको संख्या घट्नुले विश्वविद्यालयको वित्तीय अवस्था, कर्मचारी संख्या र सञ्चालन भइरहेका पाठ्यक्रममा प्रत्यक्ष असर पार्ने विश्वविद्यालय प्रमुखहरूको भनाइ छ। 

किंग्स कलेज लन्डनका उपकुलपति प्रोफेसर शितिज कपुरले भने- ‘अन्तर्राष्ट्रिय विद्यार्थी संख्यामा आएको गिरावट “निराशावादी अपेक्षाहरूसँग मिल्दोजुल्दो” थियो र यसले यस वर्षको सुरुमा स्नातकोत्तर आवेदनहरूमा आएको गिरावटलाई पनि प्रतिबिम्बित गर्न सक्छ।’

उनका अनुसार औसतमा प्रत्येक पाँच अन्तर्राष्ट्रिय विद्यार्थीको शुल्कले विश्वविद्यालयमा एउटा रोजगारीलाई टिकाउन मद्दत पुर्‍याउँछ।

घरेलु विद्यार्थी शुल्क लामो समयदेखि स्थिर रहनु पनि विश्वविद्यालयहरूका लागि अर्को समस्या बनेको छ। सन् २०१७ देखि २०२५ सम्म स्नातक शुल्क ९ हजार २५० पाउन्डमा कायम रहँदा मुद्रास्फीतिका कारण त्यसको वास्तविक मूल्य झन्डै एक तिहाइले घटेको छ।

त्यसैमा अन्तर्राष्ट्रिय विद्यार्थीबापत प्रतिव्यक्ति करिब ९२५ पाउन्ड लेभी तिर्नुपर्ने सरकारी नयाँ व्यवस्थाले आर्थिक दबाब थपिदिएको छ। रसेल ग्रुपकी प्रमुख कार्यकारी लिबी ह्याकेटका अनुसार विदेशी विद्यार्थीको गिरावटका कारण बेलायतले करिब ३ अर्ब पाउन्ड बराबरको शुद्ध आर्थिक लाभ गुमाएको छ।

युनिभर्सिटिज यूकेकी प्रमुख कार्यकारी भिभियन स्टर्नले भिसा आवेदनमा आएको गिरावट सरकारका लागि ‘सचेतक संकेत’ हुनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय विद्यार्थीमाथि लगाइएको कर फिर्ता लिन आग्रह गरेकी छन्।

पूर्व विश्वविद्यालय मन्त्री डेभिड विलेट्सले केही संस्था वित्तीय संकटका कारण बन्द हुनेसम्मको अवस्थामा पुग्न सक्ने चेतावनी दिँदै पाठ्यक्रम कटौती, कर्मचारी कटौती र शिक्षाको गुणस्तर खस्किनु अझ ठूलो चिन्ताको विषय भएको बताएका छन्।

यसको असर पहिल्यै देखिन थालेको छ, युनिभर्सिटी अफ एक्सेटरले भूगोलसम्बन्धी केही पाठ्यक्रम तत्काल बन्द गर्ने घोषणा गरिसकेको छ। यद्यपि बेलायती विद्यार्थी भने विश्वविद्यालयप्रति आकर्षित भइरहेका छन्, यस वर्ष १ लाख ९४ हजार ८ सय १८ वर्षीय विद्यार्थीले आफ्नो पहिलो रोजाइको विश्वविद्यालयमा स्थान प्राप्त गरेका छन्।

सरकारले भने शुल्क वृद्धिलाई शिक्षण गुणस्तरसँग जोड्ने संकेत गरेको छ। तर विश्वविद्यालय क्षेत्रले भने तत्काल नीतिगत सुधार र अन्तर्राष्ट्रिय विद्यार्थीप्रतिको कडाइ घटाउन सरकारसँग माग गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू