बिहीबार, १३ अगस्ट, २०२६
09:54 | १४:३९

बेलायतमा अत्यधिक गर्मीको चेतावनी, तापक्रम ३८ डिग्रीसम्म पुग्ने

नेपाली लिङ्क अगस्ट १३, २०२६

लन्डन । बेलायतका विभिन्न क्षेत्रमा आज बिहीबारदेखि अत्यधिक गर्मीको  ‘एम्बर’ मौसम चेतावनी लागू गरिको छ। मौसमविद्हरूका अनुसार केही स्थानमा तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ।

यस वर्ष बेलायतमा देखिएको पाँचौँ व्यापक तातो लहर आज चरम अवस्थामा पुग्ने अनुमान गरिएको छ। चेतावनी लागू भएका अधिकांश क्षेत्रमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि रहने र कतिपय स्थानमा मध्य ३० डिग्री सेल्सियससम्म पुग्ने अपेक्षा गरिएको छ।

‘एम्बर’ चेतावनी आज बिहान ९ बजेदेखि राति मध्सयरातसम्म  पूर्वी इङ्ल्यान्ड, लन्डन तथा दक्षिणपूर्व, मिडल्यान्ड्स तथा यर्कसायर र हम्बरका केही भागमा लागू रहनेछ।

यससँगै यूके हेल्थ सेक्युरिटी एजेन्सीले सम्पूर्ण इङ्ल्यान्डका लागि एम्बर हीट हेल्थ अलर्ट जारी गरेको छ। उक्त स्वास्थ्य चेतावनी शुक्रबार राति ९ बजेसम्म कायम रहनेछ।

अत्यधिक गर्मीका कारण स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्रमा उल्लेख्य असर पर्न सक्ने चेतावनी दिइएको छ। विशेषगरी ६५ वर्षभन्दा माथिका व्यक्ति, दीर्घरोगी, बालबालिका तथा अन्य संवेदनशील समूह बढी जोखिममा पर्ने बताइएको छ।

तातो मौसमका कारण डिहाइड्रेसन, हीट एक्सहस्टन तथा अन्य गर्मीसम्बन्धी स्वास्थ्य समस्या बढ्न सक्नेछन्। लामो समयसम्म चर्को घाममा बस्दा शरीरको तापक्रम असामान्य रूपमा बढ्ने र गम्भीर अवस्थामा स्वास्थ्य जटिलता निम्तिन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

अत्यधिक गर्मीको प्रभाव यातायात तथा पूर्वाधारमा पनि पर्न सक्ने अनुमान गरिएको छ। केही क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या आउन सक्ने, रेल सेवा ढिला हुन सक्ने तथा हवाई यात्रामा समेत अवरोध वा ढिलाइ हुन सक्ने चेतावनी दिइएको छ।

पश्चिमी क्षेत्रमा आर्द्रता बढ्दै जाँदा केही रातमा तापक्रम २० डिग्री सेल्सियसभन्दा तल नझर्ने ‘ट्रपिकल नाइट’ समेत हुन सक्ने अनुमान गरिएको छ। दिन र रात दुवै समय लगातार उच्च तापक्रम रहँदा शरीरले पर्याप्त आराम पाउन नसक्ने भएकाले स्वास्थ्यमा थप दबाब पर्न सक्ने विशेषज्ञहरूले बताएका छन्।

यद्यपि यो तातो लहर लामो समय टिक्न नसक्ने अपेक्षा गरिएको छ। मौसमविद्हरूका अनुसार अत्यधिक गर्मी करिब दुईदेखि तीन दिनसम्म रहने र सप्ताहन्तदेखि तापक्रम क्रमशः घट्न थाल्नेछ।
तापक्रम घटे पनि मध्य अगस्टको औसतभन्दा केही माथि नै रहने सम्भावना रहेको छ।

स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई पर्याप्त पानी पिउन, दिउँसोको चर्को घाममा अनावश्यक बाहिर ननिस्कन, हल्का कपडा लगाउन तथा वृद्धवृद्धा र स्वास्थ्य समस्या भएका व्यक्तिको विशेष ख्याल राख्न सुझाव दिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू