बुधबार, १२ अगस्ट, २०२६
10:59 | १५:४४

स्कटल्यान्डमा आज दुर्लभ सूर्यग्रहण, ९५ प्रतिशतसम्म सूर्य ढाकिने

नेपाली लिङ्क अगस्ट १२, २०२६

फोटो-बीबीसी

लन्डन । सन् १९९९ पछि बेलायतबाट देखिन लागेको सबैभन्दा प्रभावशाली र दुर्लभ सूर्यग्रहण आज बुधबार स्कटल्यान्डबाट अवलोकन गर्न सकिने भएको छ। यसलाई करिब तीन दशकयताकै सबैभन्दा प्रभावशाली सूर्यग्रहणको रुपमा हेरिएको छ।

खगोलविद्हरूका अनुसार आंशिक सूर्यग्रहणका क्रममा चन्द्रमाले सूर्यको करिब ९५ प्रतिशत भाग ढाक्नेछ र ग्रहणको सम्पूर्ण प्रक्रिया करिब दुई घण्टासम्म चल्नेछ।

स्कटल्यान्डकी एस्ट्रोनोमर रोयल प्राध्यापक क्याथरिन हेयमन्सका अनुसार स्थानीय समयअनुसार साँझ ६ बजेर १ मिनेटदेखि ६ बजेर १० मिनेटबीच सूर्य ढाक्न सुरु हुनेछ, करिब एक घण्टापछि चरम अवस्थामा पुग्नेछ र साँझ ८ बज्नुअघि समाप्त हुनेछ।

स्कटल्यान्डमा सूर्य तुलनात्मक रूपमा ढिलो अस्ताउने भएकाले ग्रहण सकिँदासम्म पर्याप्त उज्यालो रहनेछ र इंग्ल्यान्डको तुलनामा दृश्य अझ स्पष्ट देखिने सम्भावना रहेको छ। पश्चिमतर्फका अग्लो तथा खुला स्थानहरू अवलोकनका लागि सबैभन्दा उपयुक्त मानिएका छन्।

ग्रहणको गति सुस्त हुने भएकाले बादल लागेमा पनि खुला आकाश भएको स्थान खोज्न पर्याप्त समय हुने खगोलविद्हरूले बताएका छन्।

मेट अफिसका अनुसार स्कटल्यान्डको पश्चिमी भागमा बादलले दृश्यमा अवरोध पुर्‍याउन सक्नेछ भने दक्षिण तथा पूर्वी क्षेत्रमा सूर्य कम ढाकिए पनि आकाश सफा रहने सम्भावना बढी छ।

विशेषज्ञहरूले नाङ्गो आँखाले सीधै सूर्यतर्फ नहेर्न कडा चेतावनी दिँदै प्रमाणित सूर्यग्रहण चस्मा वा सुरक्षित अवलोकन उपकरणको प्रयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू