लन्डनको हिथ्रोलाई उछिन्दै इस्तानबुल बन्यो युरोपकै सबैभन्दा व्यस्त विमानस्थल

लन्डन । लन्डनस्थित हिथ्रो विमानस्थललाई पछि पार्दै टर्कीको इस्तानबुल विमानस्थल युरोपकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ।
पछिल्लो तथ्यांकअनुसार जुलाई महिनामा इस्तानबुल विमानस्थलबाट ८१ लाख ५० हजार यात्रुले आवतजावत गरेका छन्। सोही अवधिमा हिथ्रो विमानस्थलका चारवटा टर्मिनलबाट ७८ लाख ६० हजार यात्रुले यात्रा गरेका थिए।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण उक्त क्षेत्रतर्फका उडान प्रभावित हुँदा हिथ्रोको यात्रु संख्यामा कमी आएको बताइएको छ। गत वर्षको जुलाईको तुलनामा यस वर्ष हिथ्रोबाट मध्यपूर्वी रुटमा यात्रा गर्ने यात्रुको संख्या २०.२ प्रतिशतले घटेको छ।
एअरपोर्ट्स काउन्सिल इन्टरनेसनलको वार्षिक तथ्यांकअनुसार सन् १९९६ देखि २०१९ सम्म हिथ्रो युरोपकै सबैभन्दा व्यस्त विमानस्थलका रूपमा रहँदै आएको थियो। कोरोना महामारीपछि यसको स्थान खस्किए पनि सन् २०२३ मा हिथ्रो पुनः पहिलो स्थानमा फर्किएको थियो।
हाल हिथ्रोका दुईवटा धावनमार्ग पूर्ण क्षमतामा सञ्चालनमा छन्। यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै विमानस्थल व्यवस्थापनले तेस्रो धावनमार्ग निर्माणका लागि बेलायत सरकारसँग अनुमति मागिरहेको छ।
हिथ्रोका अनुसार विस्तार योजना स्वीकृत भएमा विमानस्थलको वार्षिक यात्रु क्षमता १५ करोडसम्म पुर्याउन सकिनेछ। व्यवस्थापनले विमानस्थल विस्तारले बेलायतको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने दाबी गरेको छ।
सन् २०२५ मा हिथ्रोले कुल ८ करोड ४४ लाख ६० हजार यात्रुलाई सेवा दिएको थियो। गत जुलाई १९ मा विद्यालयहरूको गर्मी बिदा सुरु भएसँगै एकै दिन २ लाख ६७ हजार यात्रुले हिथ्रो प्रयोग गरेका थिए, जुन यस वर्षकै सबैभन्दा व्यस्त दिन थियो।
तर जुलाई महिनाको समग्र यात्रु संख्यामा भने इस्तानबुलले हिथ्रोलाई उछिन्दै युरोपको सबैभन्दा व्यस्त विमानस्थलको स्थान आफ्नो पक्षमा पारेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


