एनआरएनए युरोप क्षेत्रीय सम्मेलनमा उपनेता पराजुलीले भने: संघले देखिने गरी काम गर्न सकेन


डब्लिन- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ठोस र स्पष्ट देखिने गरी काम गर्न नसकेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रमुख अतिथिसमेत रहेका सांसद पराजुलीले एनआरएनएका मागहरूलाई राज्यका तर्फबाट तत्काल पूरा गर्न नसकिएको विषय स्वीकार गरे ।
डब्लिनमा सुरु भएको दुईदिने क्षेत्रीय सम्मेलनको उद्घाटन प्रमुख अतिथि पराजुली, बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी र परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए ।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले वर्तमान कार्यसमितिले फाटेको मन जोडेर संस्थामा एकता कायम गर्ने मुख्य काम आयरल्यान्डबाटै सुरु भएको बताए ।
उनले अबका दिनमा नयाँ पुस्ता, महिला, सरकार तथा नेपाल चेम्बर अफ कमर्स लगायतका निकायसँग जोडिने कार्यक्रमलाई तीव्रता दिइने जानकारी दिँदै ‘ग्लोबल नलेज कन्फरेन्स’लाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।
यस्तै, बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीले विदेशमा रहेका नेपालीले नेपालमा रहेका परिवार र सरकारलाई आर्थिक रूपमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । “दोस्रो र तेस्रो पुस्ता विस्तारै नेपालसँगको सम्बन्धबाट टाढा हुँदै गएका छन् भने चौथो पुस्ता झन् धेरै टाढिएको छ,” दुवाडीले भने, “यस्ता नयाँ पुस्तालाई कसरी नेपालसँग जोड्ने भन्नेबारे एनआरएनएले अब गम्भीर भएर सोच्ने वेला आएको छ।”
सरकारले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणा अघि सारेकाले विदेशमा आर्जन गरेको ज्ञान, क्षमता, अनुभव र पुँजीलाई नेपालसँग जोड्न परराष्ट्र मन्त्रालय निरन्तर लागिपरेको उनले बताए।

परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीले गैरआवासीय नेपाली र नेपालको सम्बन्ध केवल रेमिट्यान्समा मात्र सीमित हुन नहुने बताउँदै लगानी भित्र्याउन विश्वास पहिलो सर्त भएको उल्लेख गरे। “सरकार गैरआवासीय नेपालीलाई कानुनी संरक्षण दिन तयार छ, त्यसैले ढुक्क भएर लगानी गर्नुहोस् भन्नुपर्छ,” उनले भने, “एनआरएनएको वास्तविक पुँजी पैसा मात्र होइन, उहाँहरूको अनुभव, ज्ञान र क्षमता पनि हो।”
सुवेदीले सरकार अब ‘रिटर्न टु नेपाल’ भन्दा पनि ‘कनेक्ट टु नेपाल’को अवधारणामा अघि बढ्नुपर्नेमा जोड दिए। एनआरएनएले बैठक बस्ने र सरकारसँग माग राख्ने परम्पराबाट माथि उठेर आर्थिक, सामाजिक तथा ज्ञान हस्तान्तरण जस्ता विषयलाई आफ्ना मुख्य एजेन्डा बनाउनुपर्ने उनको भनाइ थियो।
समारोहमा एनआरएनए आइसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए। यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल र एनआरएनए आइसीसीका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले पठाएको शुभकामना सन्देशको भिडियो प्रस्तुत गरिएको थियो।
एनआरएनए आयरल्यान्डका अध्यक्ष चेतराज वलीले ऐतिहासिक क्षेत्रीय सम्मेलन आयोजना गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण एनआरएनए अभियानकर्ताहरूलाई धन्यवाद दिए।
उद्घाटन कार्यक्रममा स्कटल्यान्डमा बसोबास गर्दै आएका सजलकेशर कार्कीले स्कटल्यान्डको राष्ट्रिय धुन (बैगपाइप) बजाएर प्रस्तुति दिएका थिए भने एनआरएनए आयरल्यान्डकी उपाध्यक्ष प्रजया न्यौपानेले सांस्कृतिक झाँकी प्रस्तुत गरेकी थिइन्।
युरोप संयोजक रोबर्ट लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन युरोप महिला संयोजक बाबा राजेश्वरी थापा र मुकुन्द भुसालले संयुक्त रूपमा गरेका थिए। कार्यक्रम समापन गर्दै युरोप संयोजक लिम्बुले नेपाली नागरिकता निरन्तरताका लागि विशेष जोड समेत दिए ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


