सोमबार, १० अगस्ट, २०२६
10:54 | १५:३९

लन्डनमा प्रतिभा नक्षत्र सातौं संस्करण आइतबार, तयारी अन्तिम चरणमा

नेपाली लिङ्क अगस्ट १०, २०२६

लन्डन- बेलायतमा वर्षेनी आयोजना हुंदै आएको प्रतिभा नक्षत्रको सातौं संस्करण आउँदो आइतबार १६ अगष्टमा हुंदैछ। साउथ इष्ट लन्डनको प्लमस्टेड कमनस्थित ग्रीनवीच रग्वी क्लबको ग्राउन्डमा तय कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन्।

बिहान १० देखि बेलुका ८ बजेसम्मलाई निर्धारित कार्यक्रममा बाल र युवा गरी दुई विधामा बालबालिका र किशोरकिशोरीहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्नेछन्। कार्यक्रमस्थलमा मौलिक नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा झल्काउने नमुना घर, स्टलसहित नौमती बाजा, गीत, संगीतसहितका विविध सांस्कृतिक प्रस्तुति र नेपाली हस्तकला, गरगहना र खानाका स्टलहरुसमेत रहनेछन्।

कार्यक्रमकी कोरियोग्राफर रेनुका मगरले यसपटकको कार्यक्रममा बाल र युवा विधामा जम्मा २५ जना बालबालिका र किशोरकिशोरीको सहभागिता रहने जानकारी दिइन् । बेलायतका साथै आयरल्यान्ड, जर्मनी, बेल्जियमसहितका युरोपेली मुलुकबाट समेत सहभागी आउँदैछन् । उनीहरुले नेपाली बाजा बजाउनेदेखि गीत, नृत्य, वक्तृत्वकलालगायतका विविध प्रतिभा प्रस्तुत गर्नेछन्।

प्रतिभा नक्षत्रका संस्थापक निर्देशकमध्ये एक लछुमन गुरुङका अनुसार यसपटकको कार्यक्रममा नेपाल, आयरल्यान्ड, बेल्जियम र बेलायतबाट गरी जम्मा पाँच जना निर्णायक आउँदैछन्। नेपाली भाषा, कला, साहित्य, संगीतजस्ता विभिन्न क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्वहरुलाई निर्णायकमा चयन गरिएको उनले बताए । प्रतिभा नक्षत्र प्रतिभा प्रस्तुतिका लागि मात्र नभइ विदेशमै जन्मिएका र यतै हुर्किरहेको नेपाली नयाँ पुस्तामा नेपालप्रतिको प्रेम र लगावलाई प्रोत्साहन गर्ने मञ्च रहेको उनले जनाए।

प्रतिभा नक्षत्रकी महासचिव आस्था जोशी कार्यक्रमले दर्शकलाई मिनी नेपालकै अनुभूति गराउने बताउँछिन्। नमुना नेवारी घर, थारु घर र खस घरलगायतको प्रदर्शनी, हस्तकला, नेपाली गरगहना तथा खानाका स्टलदेखि मौलिक नेपाली बाजा र कला, संस्कृति झल्काउने प्रस्तुतिसम्मले सहभागहिरुलाई नेपालमै पुगेको अनुभव गराउने उनको विश्वास छ।

प्रतिभा नक्षत्रका संरक्षक एवम् सातौं संस्करणका संयोजक मनिषकुमार श्रेष्ठले विदेशमा रहेका नेपालीहरुको अर्को पुस्तासम्म पनि मौलिक नेपाली पहिचानलाई बचाइराख्नु नै कार्यक्रमको प्रमुख लक्ष्य रहेको बताए । नेपाली भाषा, कला, संस्कृति प्रवर्द्धनको प्रयासस्वरुप कार्यक्रमस्थलमा नेपालबाट ल्याइएका हस्तकलासहित विभिन्न घरेलु उत्पादनहको साथै साहित्यघर, खेलकुदघर, भान्साघरलगायतका विविध स्टलहरु राखिने उनले जनाए।

कार्यक्रम सहसंयोजक शिविरा पुन श्रेष्ठले आफूहरुजस्ता युवाका लागि प्रतिभा नक्षत्र नेपाली समुदायसंग जोडिने उपयुक्त मञ्च रहेको बताइन्। नेपालीबाहेकको अरु समुदायसम्म पनि मौलिक नेपाली कला, संस्कृतिलाई चिनाउने अवसर प्रतिभा नक्षेत्रले प्रदान गरेको उनको अनुभव छ।


कार्यक्रमका सञ्चालकमध्ये एक सत्यप्रसाद प्रजापतिले सबैलाई आफ्नो परिवारसहित ‘डे आउट’ का रुपमा प्रतिभा नक्षेत्र कार्यक्रममा सहभागी हुन आवहान गरे । कार्यक्रमले बालबालिकाहरुलाई आफ्नो मौलिक भाषा, कला, संस्कृति कस्तो हुंदो रहेछ भनेर जान्ने अवसर दिलाउने उनले जनाए ।

प्रतिभा नक्षेत्रकी कार्यवाहक अध्यक्ष विजया दाहाल भण्डारी र संस्थापक अध्यक्ष सिम्मी पुनले बेलायतवासी सबै नेपालीहरुलाई कार्यक्रममा सहभागी भएर नेपाली कला, संस्कृतिको प्रवर्द्धनका लागि प्रयासरत बालबालिका र युवाहरुका साथै आयोजकलाई पनि हौसला प्रदान गर्न आग्रह गरेका छन्।

कार्यक्रममा बेलायतसहित युरोपका विभिन्न मुलुकबाट समेत नेपाली समुदाय र संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ । कार्यक्रममा विभिन्न आधा दर्जन कार्यक्रममा विभिन्न आधा दर्जन संघसंस्थाको सहकार्य छ।

प्रतिभा नक्षेत्रमा सहभागिताका लागि दर्शकलाई प्रवेश निशुल्क छ।

डायस्पोराका नेपाली बालबालिका तथा किशोरकिशोरीलाई प्रतिभा प्रस्तुतिको मञ्च प्रदान गर्दै उनीहरुलाई नेपालसंग जोड्ने अभियानका रुपमा सन् २०१७ मा शुरु भएको थियो प्रतिभा नक्षत्र । राजेन्द्र खसको परिकल्पना र अवधारणामा शुरु भएको अभियानले डायस्पोरामा नेपाली कला, संस्कृति, भाषा, साहित्य, परम्परासहित समग्र नेपालीपन प्रवर्द्धन गर्दै नयाँ पुस्तासम्म हस्तान्तरणको लक्ष्य लिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू