शनिबार, ८ अगस्ट, २०२६
12:55 | १७:४०

बेलायतका नेपालीले पनि रुचाए ‘गौंथली’

नेपाली लिङ्क अगस्ट ८, २०२६

लन्डन— बालविवाहविरुद्ध सशक्त सन्देश र महिला शिक्षाको महत्त्वमा केन्द्रित नेपाली कथानक चलचित्र ‘गौंथली’ बेलायतका विभिन्न शहरमा शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।

७ अगस्टदेखि अल्डरसट लगायत बेलायतका दुई दर्जन बढी स्थानमा चलचित्र एकसाथ प्रदर्शनमा आएको हो। बेलायतका प्रमुख शहरहरूमा दर्शकको उल्लेख्य उपस्थिति र उत्साहजनक प्रतिक्रिया आइरहेको निर्माण पक्षले जनाएको छ । सिने वर्ल्ड, भ्यू, साभोय लगायत विभिन्न हलमा चलचित्र प्रदर्शन भएको हो ।

गत शुक्रबार सिने वर्ल्ड हलमा प्रदर्शन भएको विशेष प्रदर्शन कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी, एनआरएनए यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ र योगेन क्षेत्री, बुद्धिस्ट कम्युनिटी सेन्टर यूकेका संस्थापक अध्यक्ष लप्टन काजी शेर्पा, गोर्खा मिडियाका मिलन तमु, अन्य समुदाय लगायत बेलायतस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

डा. भोला रिजालको कथामा निर्माण भएको यस चलचित्रलाई बेलायतवासी दन्त चिकित्सा व्यवसायी डा. कपिल रिजालले निर्देशन गरेका हुन्।

करिब ३० वर्षअघि नेपालको ग्रामीण भेगमा घटेका घटना तथा सामाजिक–पारिवारिक परम्परालाई चलचित्रमा जीवन्त रूपमा उतारिएको छ। परिवारको मान, प्रतिष्ठा र सम्मानका लागि गरिने त्याग तथा बालविवाहले ल्याउने प्रभावलाई चलचित्रले प्रस्तुत गरेको छ।

चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवन्त अभिनयका साथै अरुण क्षेत्री, सिमरन खड्का, प्रकाश घिमिरे, लोनिभा तुलाधर लगायतका कलाकारहरूको सशक्त अभिनय एवम् जोडदार प्रस्तुति रहेको छ। शिक्षा—विशेष गरी महिला शिक्षाको अपरिहार्यतालाई जोड दिँदै जस्तोसुकै कठिन परिस्थितिमा पनि उच्च लक्ष्य (चन्द्रमा छुने उद्देश्य) राखेर अघि बढ्नुपर्छ भन्ने सकारात्मक सन्देश चलचित्रले दिएको छ।

डा. कपिल रिजाल र सुमन गिरी द्वारा निर्मित ‘गौंथली’ चलचित्रको मिठासपूर्ण प्रस्तुति, उत्कृष्ट निर्देशन र प्रशंसनीय अभिनयले दर्शकहरूको मन जित्न सफल भएको छ।

शनिबार पनि चलचित्रको विशेष प्रदर्शन रहने जानकारी निर्देशक पत्नी डा. रजनी रिजालले दिएकी छन्। उक्त चलचित्र नेपालका विभिन्न शहरमा गत साउन १ गते (जुलाई १७) देखि भव्य रूपमा प्रदर्शन भइरहेको छ। अहिले ‘गौंथली’ नेपालमा अत्यधिक कमाइ गर्ने चलचित्र बनेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू