बिहीबार, १९ फ्रेब्रवरी, २०२६
10:14 | १५:५९

तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङसहित चार सम्मानित

नेपाली लिङ्क फ्रेब्रवरी १९, २०२६


काठमाडौँ—तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, तमु धीं युकेका वरिष्ठ उपाध्यक्ष पर्शु गुरुङ, तमु धीं युके आमा समूहकी वरिष्ठ उपाध्यक्ष नन्दा गुरुङ तथा गोर्खा जिल्ला तमु समाज युकेका अध्यक्ष टेक मान गुरुङलाई एक समारोहबीच स्वागत तथा सम्मान गरेको छ।

हाल नेपाल भ्रमणमा रहनुभएका उहाँहरूलाई परिषद्को केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो।

परिषद्का केन्द्रीय अध्यक्ष धनमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतबाट आएका अतिथिहरूलाई खादा तथा फेटा ओढाएर हार्दिक स्वागत गरिएको थियो।

सम्मान कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले तमु समाज युकेको स्थापनाकालीन संघर्ष र वर्तमान गतिविधिबारे प्रकाश पार्नुभयो। उहाँले प्रारम्भिक चरणमा नेपालबाट बेलायत बसाइँ सरेका भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारलाई सहयोग गर्नु नै संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो।

उहाँका अनुसार हाल तमु समाज युकेले बेलायतमा मृत्यु भएका नेपालीहरूको पार्थिव शरीर नेपाल पठाउने कार्यदेखि नेपालमा आइपर्ने प्राकृतिक प्रकोप तथा विपद्का समयमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ।

साथै, बेलायतमा तमु तथा नेपाली धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने कार्यलाई संस्थाले उच्च प्राथमिकतामा राख्दै आएको पनि उहाँले उल्लेख गर्नुभयो।


दुई संस्थाबीचको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता

आफू र आफ्नो टोलीलाई गरिएको आत्मीय सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले अध्यक्ष धनमान गुरुङ, सम्पूर्ण कार्यसमिति तथा सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा तमु समाज युके र तमु ह्युल छोंज धीं बीचको सम्बन्ध अझ सुमधुर, सुदृढ र सहकार्यपूर्ण बन्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण तमु समुदायबीच एकता कायम रहोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो।

कार्यक्रम सञ्चालन परिषद्का महासचिव अधिवक्ता राजु गुरुङले गर्नुभएको थियो।

कार्यक्रममा परिषद्का उपाध्यक्षहरू, कार्यसमिति सदस्यहरू तथा विभिन्न क्षेत्रका तमु व्यक्तित्वहरूको उपस्थिति थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू