शुक्रबार, ६ फ्रेब्रवरी, २०२६
20:11 | ०१:५६

चुनावको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल ‘हाइ अलर्ट’: मित्थ्या सूचना सेयर गरे कारबाही

रासस फ्रेब्रवरी ६, २०२६


काठमाडौँ । अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।

यस्तो संवेदनशिल समयमा क्षणिक आवेगमा आएर तपाईं अरुलाई गाली गरेका तथा मित्थ्या सूचना सेयर गर्न तथा पोष्ट गर्न सक्रिय त हुनुभएको छैन वा जानी नजानी कसैको व्यक्तिगत चरित्रहत्या गरिरहनुभएको पो छ कि ? सावधान ! यस्ता सूचना सामाजिक सञ्जालमा राख्नुभयो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ ।

नेपाल प्रहरीले अहिले सामाजिक सञ्जालको उच्च निगरानी गरिरहेको र यस्ता सूचनाहरू सार्वजनिक गरिएमा कारबाही हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार यसरी सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धमा टोली नै बनाएर अनुगमन गरिएको छ । यसका साथै प्रहरीको साइबर ब्यूरोले समेत सुक्ष्म अनुगमन गरिरहेको उनले बताए ।

उनले सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यमहरूको प्रयोगद्वारा गलत सूचना र भ्रम फैलाउने, जातीय, धार्मिक, सामाजिक र साम्प्रदायिक सदभाव बिगार्ने, अरुको चरित्रहत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामग्री बनाउने र सेअर गर्नु अपराध भएको पनि बताए ।

प्रहरीले कुनै पनि घटना, कसैको अभिव्यक्ति, तस्बिर वा भिडियोलाई झुट्टो, गलत वा भ्रमपूर्ण रूपमा काँटछाँट गरेर अफवाह फैलाउने उद्देश्यका साथ प्रयोग नगर्न र त्यस्ता सामग्रीलाई प्रोत्साहन गर्न लाइक, सेअर वा कमेन्ट नगर्न पनि सबैलाई अनुरोध गरेको छ ।

कानुनविपरीतका सामग्री उत्पादन, प्रचार वा समर्थन गर्नु पनि अपराध भएको जानकारी गराउँदै उनले अनलाइनमा देखिएका कुनै पनि पोस्टहरू सेअर गर्नुअघि त्यो सही र सत्य भए नभएको बुझ्ने प्रयास गर्न सबैमा अनुरोध गरेका छन् ।

प्रहरीले सार्वजनिक आह्वान गर्दै भनेको छ, “सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माण गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ । जिम्मेवार नागरिक बनौँ, समाजमा शान्ति तथा सदभाव कायम राख्न सबैले सहयोग गरौँ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू