शुक्रबार, २३ जनवरी, २०२६
02:26 | ०८:११

आज श्रीपञ्चमी, देशभर सरस्वतीको पूजा आराधना गरिंदै

रासस जनवरी २३, २०२६

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्त पञ्चमी) आज देशभर श्रद्धा र विधिपूर्वक मनाइँदैछ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी विद्या, बुद्धि र सृजनात्मक शक्तिको कामना गर्ने परम्परा अनुसार आज सरस्वती मन्दिरहरूमा श्रद्धालुको उल्लेख्य भीड देखिएको छ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने धार्मिक विश्वास रहेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । लेखपढको आरम्भ आजका दिन गरे राम्रो विद्या प्राप्त हुने मान्यता छ ।

चन्द्रमाजस्तो गोरो वर्ण, हातमा वीणा र पुस्तक धारण गरेकी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, वरदायिनी, बुद्धिदात्रीलगायत विभिन्न नामले पुकारिन्छ । विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले आफ्ना साधनाका सामग्री—कलम, कापी, कुची र वाद्ययन्त्र—लाई सरस्वतीस्वरूप मानी पूजा गर्ने गर्छन् । तान्त्रिक परम्परामा भने तारादेवीका रूपमा आराधना गर्ने चलन पनि रहेको छ ।

सूर्य उत्तरायण लाग्दै दिन लामो हुने र वसन्त ऋतुको प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्ध ब्रह्माकी अर्धाङ्गिनी सरस्वतीको उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक मान्यता छ । गान्धर्व पुराणमा आज सरस्वती पूजा गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने उल्लेख गरिएको छ ।

परम्पराअनुसार आज विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता शुभकार्यका लागि साइत हेर्नु नपर्ने विश्वास छ । तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्महरू गरिँदैनन् । यसै दिन बालबालिकालाई शिक्षा आरम्भ गराउने तथा नाक–कान छेड्ने चलन पनि छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरमा आज बिहानैदेखि विशेषगरी विद्यार्थीहरूको घुइँचो लागेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निले विद्या र बुद्धि स्फुरण हुने विश्वास पनि प्रचलित छ ।

वसन्त श्रवण

यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने परम्परा अनुसार आज बिहान १०ः२७ बजे शुभसाइतमा रामचन्द्र पौडेलले वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी दिएको छ । कार्यक्रमका सबै तयारी पूरा भएको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू