बुधबार, ११ मार्च, २०२६
03:11 | ०८:५६

वैशाखयता देशभर झण्डै ६ हजार विपद्, ४२४ जनाको ज्यान गयो

रासस जनवरी २३, २०२६

काठमाडौँ —गत वैशाखदेखि हालसम्म देशभर कुल पाँच हजार ९६६ वटा विपद्का घटना घटेका छन् ।
विपद्मा परेर चार सय २४ जनाको ज्यान गएको छ भने एक हजार छ सय ४३ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर ३८ जना बेपत्ता भएका छन् भने ११ हजार ५३५ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । दुई हजार ६९२ वटा आगलागीका घटना हुँदा ७५ जनाको अकालमा ज्यान गएको छ ।

यस्तै, चार सय ४२ जना घाइते हुँदा दुई हजार ९९६ परिवार प्रभावित भएका छन् ।

त्यसैगरी, पहिरोका मात्रै पाँच सय ७७ घटना घटेको छ । पहिरोमा परेर ७१ जना मृत्यु भएको छ भने पाँच बेपत्ता छन् भने ८० जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार बाढीको तीन सय १६, भारी वर्षाको चार सय २७, चट्याङको तीन सय ५२, सर्पदंशको पाँच सय ८० घटना घटेको छ । वन डढेलोको एक सय ८६, हुरीबतास दुई सय ९०, जनावर आक्रमण चार सय २२, लेक लाग्नुका एक सय पाँच घटना घटेको छ ।

हिउँ पहिरोको सङ्ख्या पाँच छ । भूकम्प सात, डुङ्गा पल्टेर दुई, असिनापानी, शीतलहर, महामारी र हवाई दुर्घटना एक–एक घटना भएका छन् । पछिल्ला दिनमा त झन् आगलागीका घटनामा बढोत्तरी भएको छ ।

सामान्य सावधानी अपनाउँदासमेत आगलागीका घटना न्यूनीकरण गर्न सकिने विभागको प्रष्टोक्ति छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू